४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

दुर्घटनामा मृत्यु भएका स्याङ्जाका पूर्वमेयरको परिवारले दिए चालकविरूद्ध जाहेरी



असार-१०

गाडी दुर्घटनामा परी मृत्यु भएका  स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीका परिवारले चालकविरूद्ध जाहेरी दिएका छन्।

गिरीको दुर्घटनामा परी मृत्यु भएको नभई उनको हत्या भएको र त्यसमा गाडीका चालकको संलग्नता रहेको आशंकामा उनका परिवारले चालक सुरज नेपालीविरूद्ध जाहेरी दिएका हुन्।

आइतबार दिवंगत गिरीका भाई बलरामले जिल्ला प्रहरी कार्यालय स्याङ्जा पुगेर गाडीचालक नेपालीविरूद्ध जाहेरी दर्ता गरेको जानकारी दिए।

पूर्वमेयर गिरीको यही असार २ गते गाडी दुर्घटनामा मृत्यु भएको थियो।

पुतलीबजारबाट स्याङ्जा बजार आउँदै गरेको बा १५ च म १७०९ नम्बरको उनी सवार स्कारपिओ पुतलीबजार नगरपालिका १० बर्जामा अनियन्त्रित भइ दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा ६० वर्षीय गिरीको निधन भएको थियो।

दुर्घटनापछि प्रहरीले चालक नेपालीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

त्यसक्रममा उनले गाडी चलाउँदा चलाउँदै निदाउन पुगेपछि दुर्घटना भएको बन्ने बयान दिएको  तर दुर्घटना हुनुभन्दा केही मिनेट अघि मात्रै उनले परिवारलाई फोन गरेर आउँदैछु भनेको पाइएको गिरीका छोरा शितलले बताए।

त्यसकारण दुर्घटनामा मृत्यु भएको देखाएर चालकले नै गिरीको हत्या गरेको  भन्दै  परिवारले उनीविरूद्ध प्रहरीमा जाहेरी दिएका हुन्।

 

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ११ : ०३ बजे