२ आश्विन २०८१, बुधबार | September 18, 2024

पब्जी मोबाइलमा व्यावसायिकता भित्र्याउने डीआरएसको च्याम्पियन शैली



२५ पुस, काठमाडौं । विश्वमै उदाउँदो खेल विधा इस्पोर्टसअन्तर्गत सबैभन्दा लोकप्रिय मोबाइल पब्जीमा नेपालको एउटा टिमले ऐतिहासिक सफलता दिएको छ । नेपालको डीआरएस गेमिङ आइतबार सम्पन्न पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी)मा उपविजेता बन्दा विश्वभरका उत्कृष्ट ४९ टिमलाई पछि पारेको हो ।

व्यावसायिक खेलकुद टिमका रुपमा स्थापित भएयता तेस्रोपल्ट पीएमजीसी खेलेर पहिलोपल्ट फाइनलमा पुगेको डीआरएसले यसपल्ट आफूलाई च्याम्पियन शैलीमा प्रस्तुत गर्‍यो । दक्षिण एसियाली छनोट र अन्य क्षेत्रीय विजेताहरुसँग अर्को छनोट पार गरेपछि पीएमजीसीको समूह चरण खेल्न पाइन्छ ।

डीआरएस गेमिङका सुविन श्रेष्ठ प्रजापती (रुल्ज), दीपेश गुरुङ (डेल्टा), साहस भण्डारी (किलर वाईटी) र समीर गुरुङ (ग्यान्टे) सम्मिलित टिमले इण्डोनेसियाको जाकार्तामा भएको फाइनल प्रतिस्पर्धामा सुरुवातदेखि नै शानदार प्रदर्शन गरेका थिए । फाइनल चरणमा पुगेका १६ टिमबीच १८ चरणमा प्रतिस्पर्धा गराइएको थियो । डीआरएसले पहिलो र दशौं चरण जितेर चिकेन डिनर पाएको थियो ।

शुक्रबारदेखि आइतबारसम्म चलेको फाइनलमा एक दिन ६ चरणका खेल हुने गरेको थियो । निर्णायक दिन आइतबार सुरुवाती ३ चरणको समाप्ती अर्थात् १५ चरण सकिँदासम्म डीआरएस चौथो स्थानमा थियो । १६ र १७ औं चरणमा प्रदर्शन सुधार हुँदा दोस्रो स्थानमा पुग्यो । तर, अन्तिम चरणको प्रदर्शन सशक्त बन्न नसक्दा डीआरएस टिम विश्व च्याम्पियन हुन चुकेको हो ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ४ : ४२ बजे