६ आश्विन २०८१, आइतबार | September 22, 2024

सिनियर नेता पन्छिंदा लुम्बिनीमा लीला गिरीले पाएको अवसर



२७ पुस, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार संविधानको धारा १६(२) बमोजिम नेकपा एमालेका संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

लुम्बिनीमा २०७४ सालमा एमालेकै शंकर पोखरेल मुख्यमन्त्री भएका थिए । मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेश झरेका पोखरेलले साढे ३ वर्ष सरकारको नेतृत्व गरे । ५ पुस २०७७ मा भएको प्रतिनिधिसभा विघटनसँगै नेकपामा आएको विभाजनसँगै लुम्बिनीमा सरकार संकटमा पर्यो र साउनमा पदमुक्त भए ।

यो पटक पोखरेलले प्रतिनिधिसभाको चुनाव लडे । एमालेले यो पटक पदाधिकारीलाई प्रदेशमा उम्मेदवार नै बनाएन । एमालेको नेता जन्माउने थलोको रुपमा परिचित लुम्बिनीका ७ जना त पदाधिकारीमा नै छन् । उपाध्यक्षद्वय युवराज ज्ञवाली र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र सचिवहरु गोर्कण विष्ट, टोपबहादुर रायमाझी र छविलाल विश्वकर्मा लुम्बिनीकै हुन् ।

उनीहरुमध्ये ज्ञवालीले चुनाव नै लडेनन् भने बाँकी सबै प्रतिनिधिसभामा उम्मेदवार बने । पदाधिकारीबाहेक अरु वरिष्ठ नेताहरु पनि प्रदेशमा झरेनन् । प्रदेशमा उम्मेदवार भएकामध्ये चुनाव जित्नेमध्ये लीला गिरी नै सिनियर हुन् ।

गिरी, एमाले अध्यक्ष केपी शर्मा ओली निकट पनि हुन् । प्रदेशमा चुनाव जितेका भूमिश्वर ढकाल, चेतनारायण आचार्य र भोजप्रसाद श्रेष्ठले पनि दलको नेतामा आकांक्षा देखाएका थिए । तर अध्यक्ष ओलीका साथै पार्टीका उपाध्यक्ष विष्णु पौडेलको समेत साथ सहयोग पाएका गिरी सर्वसम्मत एमाले संसदीय दलको नेतामा चुनिए ।

केन्द्रमा सत्ता समीकरणमा आएको फेरबदलले पनि साथ दिएपछि गिरीलाई प्रदेश सरकारको नेतृत्व गर्ने अवसर मिलेको छ । उनीसँग शंकर पोखरेल नेतृत्वको सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएर काम गरेको अनुभव छ ।

२०११ चैतमा गुल्मीको रुरुमा जन्मेका उनी हाल तिलोत्तमा नगरपालिका–१, रुपन्देहीका स्थायी बासिन्दा हुन् । मानविकी संकायबाट स्नातकसम्मको अध्ययन गरेका उनी २०२२ सालमा गुल्मीमा अगुवा शिक्षक सिद्धिनाथ ज्ञवालीहरुले पञ्चायती व्यवस्थाविरुद्ध चलाएको आन्दोलनमा सहभागी भएका थिए ।

२०४६ पुसमा तत्कालीन नेकपा (माले)को सदस्यता लिएका गिरी बहुदलीय व्यवस्था आएपछि २०४९ मा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा रुपन्देहीको शंकरनगर गाउँ विकास समिति अध्यक्ष चुनिएका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले १९ माघ २०६१ मा गरेको सत्ता पलट विरुद्धको आन्दोलनमा माघ २७ गते पक्राउ परेका गिरी वैशाख २८ गतेसम्म रुपन्देही जिल्ला कारागारमा परेका थिए ।

२०४६ मा मालेको रुपन्देही जिल्ला कमिटी सदस्य, सोही सालको आन्दोलनमा वाममोर्चाको जिल्ला सदस्य, २०४७ मा नेकपा (मार्क्सवादी)सँग एकीकरण भएर बनेको नेकपा (एमाले)को पनि जिल्ला कमिटी सदस्य, २०५६ मा जिल्ला कमिटी उपसचिव र २०५८ मा कार्यवाहक सचिव बने गिरी ।

२०६१ मा जिल्ला कमिटी सचिव, २०६६ मा जिल्ला कमिटी अध्यक्ष, २०६९ मा लुम्बिनी अञ्चल समन्वय कमिटी सदस्य तथा संगठन विभाग प्रमुख भएका उनी पार्टीको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए।

हाल पोलिटब्यूरो सदस्यका साथै लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज रहेका गिरी पार्टीभित्र इमानदार र स्वच्छ छविका नेतामा गनिन्छन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ६ : १० बजे