सुपरमाई हाइड्रोपावर लिमिटेडले योजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्काशन गरेपश्चात आज माघ २३ गतेदेखि सर्वसाधारणको लागि प्रतिकित्ता रु एक सय अंकित दरमा चार लाख १५ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुल्ला गरेको छ।
कम्पनीले आफ्नो जारी पुँजी रु ५० करोडको १० प्रतिशतले हुने रु पाँच करोड मूल्य बराबरको कूल पाँच लाख कित्ता साधारण शेयरमध्ये ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र १० हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी चार लाख १५ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो।
कम्पनीले निष्काशन गरेको शेयरमा लगानीकर्ताले छिटोमा यही माघ २६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत र ‘मेरो शेयर’ बाट आवेदन दिन सक्नेछन्।
सुपरमाई हाइड्रोलाई इक्रा नेपालले ‘इक्राएन्पी आइआर बीबीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ। कम्पनीले इलामको इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाको सीमा नदी ‘माई खोला’ मा सात दशमलव आठ मेगावाट क्षमताको सुपरमाई हाइड्रोपावरको निर्माण गरेकोे छ।
प्रतिक्रिया