२ आश्विन २०८१, बुधबार | September 18, 2024

हामीलाई पहिलेको राजाजस्तो होइन, जनताको राष्ट्रपति चाहिएको हो : गगन थापा



नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशले अहिले राजाको भद्दा नक्कल गर्ने राष्ट्रपति नचाहेको बताएका छन् । उनले राष्ट्रपति संविधानले दिएको जिम्मेवारी पूरा गर्ने संविधानको पालक र संरक्षक राष्ट्रपति जनताले चाहेको उनले बताए । 

शुक्रबार बानेश्वरमा भएको आठ दलीय गठबन्धनका बागमती प्रदेशका सांसदहरु सँग बोल्दै अब चुनिने राष्ट्रपतिले कुनै दलको निर्णय, निर्देशन र राजनीतिमा चासो राख्ने व्यक्तिले राष्ट्राध्यक्षको भुमिका निभाउन नसक्ने बताए । ‘हामीले चौथो राष्ट्रपति चुन्न लागेका छौँ, अहिले हामीलाई कुनै पनि गल्ती गर्ने छुट छैन । हामीले राष्ट्रपति संस्थालाई कस्तो बनायौँ भन्ने प्रश्न पनि उठ्छ ।

उनले अब बन्ने राष्ट्रपतिले संविधानले दिएको जिम्मेवारी पूरा गरेर समाज रुपान्तरणमा योगदान गर्नुपर्ने बताए । ‘राष्ट्रपति राष्ट्राध्यक्ष हो, राष्ट्रिय एकताको प्रवर्द्धक हो । संविधानको पालक र संरक्षक हो । संविधानको संरक्षण गर्ने कुरा बरु सजिलो छ, तर संविधानको पालना गराउने कुरा त्यति सजिलो छैन,’ थापाले भने, ‘हामी कहाँ राष्ट्रपति सेरेमोनियल पद हो भन्ने चलन छ । तर वास्तवमा त्यो पनि होइन । हाम्रो राष्ट्रपति त संवैधानिक राष्ट्रपति हो । राष्ट्रपतिको संवैधानिक जिम्मेवारी छ, दायरा छ ।’

उनले नेपाली कांग्रेसका उमेदवार २५ गते राष्ट्रपति चुनिने बताउँदै त्यसपछि सम्पूर्णरुपमा पार्टीबाट अलग हुन सक्नुपर्ने समेत बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  २ : ४६ बजे