५ आश्विन २०८१, शनिबार | September 21, 2024

कृषि अनुदान कटौती नगर्न माग



राष्ट्रिय किसान समूह महासङ्घ मधेश प्रदेशले कृषि क्षेत्रमा दिँदै आएको अनुदान कटौती नगर्न सरकार समक्ष माग गरेको छ । महासङ्घले आज सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडामार्फत प्रधानमन्त्रीलाई १३ बुँदे ज्ञापनपत्र रासायनिमक मलमा दिँदै आइएको अनुदान कटौतीपछि भएको मूल्यवृद्धिले किसान मर्कामा परेको उल्लेख गरेको छ ।

सरकारले गरेको यो निर्णयले समग्र कृषि क्षेत्र र आम उपभोक्ता मारमा परेको भन्दै महासङ्घको भनाइ छ । साथै, महासङ्घले यो निर्णय तत्काल फिर्ता लिन समेत माग गरेको छ । “अनुदान कटौतीको निर्णयले मलखाद्यको भाउ बढिसकेको छ”, महासङ्घका मधेश प्रदेश अध्यक्ष मुक्तिनारायण यादवले भन्नुभयो, “कृषि उत्पादनमा लागत बढ्न गई कृषि उपजको मूल्यमा भारी मात्रामा वृद्धि हुनेछ ।” महासङ्घले सहुलियत कृषि कर्जा तथा बीमा, किसान परिचयपत्र तथा सामाजिक सुरक्षा ‘पेन्सन’, किसानको उत्पादनको न्यूनतम समर्थन मूल्य समयमै तोक्नुपर्ने लगायतका माग राखेको छ । ज्ञापनपत्र बुझ्दै सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले राष्ट्रिय किसान समूह महासङ्घ मधेश प्रदेशस्तरबाट प्राप्त ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने जानकारी गराउनुभयो । कृषि तथा पशुपक्षी मन्त्रालयले फागुन २६ मा रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १० : ०४ बजे