२ आश्विन २०८१, बुधबार | September 18, 2024

किसानलाई अनुदानमा कृषि उपकरण



कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरूलाई यसको प्रयोगबारे जानकारीसमेत दिएको छ ।    
     
चालु आर्थिक वर्ष २०७९÷८० को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । महानगरले हाते ट्र्याक्टर दुई सय ६१ थान, कम्बाइन मिल ६२ थान, थ्रेसर छ थान, ग्रास कटर एक सय आठ थान, पावर स्प्रे ३० थान, तेल पेल्ने मेसिन छ थान र ड्याङ बनाउने मेसिन २९ थान अनुदानमा उपलब्ध गराएको छ ।    
    
कृषि महाशाखाले पोखरा महानगरका २५ वडाका कृषकलाई मागका आधारमा ती उपकरण प्रदान गरेको हो । कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले महानगरले ती उपकरण अनुदानमा दिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । किसानलाई खेती गर्न सहज होस् भनेर कृषि उपकरण प्रदान गरिएको हो ।    
    
“किसानले गोरु पाल्न छाडे । परम्परागतरूपमा खेती लगाउँदा समय धेरै लाग्छ”, प्रमुख आचार्यले भन्नुभयो, “खेतीलाई सरल र सहज बनाउन कृषि उपकरण दिएका हौँ । यसले समय कम लाग्छ । खर्च पनि कम हुन्छ ।” कृषिमा यान्त्रीकरण, व्यावसायीकरण र बजारीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “कृषिमा यान्त्रीकरण गर्नसके लागत घट्छ, मुनाफा बढ्छ”, आचार्यले भन्नुभयो ।    
    
अनुदान सहयोगमा हाते ट्र्याक्टर प्राप्त गर्नुभएकी पोखरा महानगरपालिका–३३ की कृषक ज्योति गुरुङले समय र पैसा बचत हुने बताउनुभयो । “गाउँमा हाते ट्र्याक्टर थिएन । पालो कुरेर अरुलाई बोलाउनुपर्ने अवस्था थियो । अनि एक घण्टाको एक हजार रुपैयाँसम्म तिरियो, अब पैसा र समय बचत हुने भयो”, उहाँले भन्नुभयो ।    

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  १२ : ५९ बजे