६ आश्विन २०८१, आइतबार | September 22, 2024

मानहानीको अभियोगमा राहुल गान्धीलाई दुई वर्ष जेल



चैत्र-९

भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीलाई गुजरातको एक अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ ।    
विपक्षी दलका नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गरेको टिप्पणीले समस्त मोदी थर भएकाको मानहानी भएको ठहर गर्दै सुरतस्थित अदालतले आज उक्त आदेश गरेको हो । गान्धीले तत्काल जेल जानु पर्दैक किनकी उहाँलाई उक्त फैसलाविरुद्ध अपिल गर्ने ३० दिनको म्याद दिइएको छ ।    
    
सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भन्नुभएको थियो । उहाँले भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भन्नुभएको थियो । नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानी भएको जिकिर गर्दै भारतीय जनता पार्टी (भाजपा)का विधायक एवम् गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले उहाँविरुद्ध मुद्दा दायर गर्नुभएको थियो ।    
    
अदालतको फैसला सुन्न नेता गान्धी सुरत अदालत पुग्नुभएको थियो । “मेरो धर्म सत्य र अहिंसामा आधारित छ । मेरो भगवान् सत्य हो, अहिंसा यसलाई प्राप्त गर्ने माध्यम हो,” अदालतको आदेशपछि सामाजिक सञ्जालमा महात्मा गान्धीलाई उद्धृत गर्दै राहुल गान्धीले हिन्दीमा लेख्नुभएको छ ।    
फैसला सन्न बुधबार सुरत पुग्नुभएका नेता गान्धीलाई पार्टीका शीर्ष नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । पार्टीका समर्थकले सुरतका विभिन्न क्षेत्रमा गान्धीका पक्षमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले ‘भाजपाको तानाशाही अगाडि काङ्ग्रेस नझुक्ने’ ‘राहुल गान्धी हिन्दुस्तानको सिंह हुनुहुन्छ’ लेखिएका बोकेका ‘प्लेकार्ड’ बोकेका थिए ।    
     
अदालतको फैसला सार्वजनिक हुने वित्तिकै दिल्लीका मुख्यमन्त्री एवम् आम आद्मी पार्टीका प्रमुख अरविन्द केजरीवालले नेता गान्धीको समर्थन गर्दै न्यायालयको निर्णयप्रति असहमति जनाउनुभएको छ । “गैर भाजपा नेता तथा पार्टीलाई मुद्दा लगाएर हटाउने षडयन्त्र रचिएको छ ।     
    
काङ्ग्रेससँग हाम्रा मतभेद छ, तर राहुल गान्धीलाई मानहानीको मुद्दामा फसाउनु ठीक होइन । हामी अदालतको समर्थन गर्छौँ तर यो निर्णयमा हामी असहमत छौँ,” जनता र विपक्षी दलले प्रश्न गर्न पाउनुपर्ने तर्क गर्दै मुख्यमन्त्री केजरीवालले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ ।रासस     

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ११ : ४६ बजे