४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

विराट गोल्डकप : विराटनगर सिटी सेमिफाइनलमा



सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी फुटबल प्रतियोगितामा विजयी सुरूआत गर्दै सेमिफाइनलको खेलयात्रा तय गरेको छ ।    
    
सहिद रङ्गशालामा बिहीबारदेखि सुरू भएको गोल्डकपमा पूर्वविजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि थप गरिएको अतिरिक्त समयकोे एक सय १७ औँ मिनेटमा विराटनगरका आशिष श्रेष्ठले निणार्यक गोल गरे । दिवाकर चौधरीले दिएको पासलाई सदुपयोग गरेर आशिषले गोलमा परिणत गरेका थिए । खेलको एक सय तीन मिनेटमा सागर थापाको ठाउँमा मैदान प्रवेश गरेका आशिषले टिमको जितका लागि निर्णायक गोल गरेका हुन् ।    
    
पहिलो हाफसम्म पुलिसले विराटनगरलाई दबाबमा राखेको थियो । निर्धारित समयसम्म प्रहरीका लागि निकै सङ्घर्षपूर्ण बन्यो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो ।    
    
 पुलिस क्लबले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो । पूर्वविजेता प्रहरीले दर्जन बढी सुन्दर अवसर खेर फाल्दा प्रतियोगिताबाट बाहिरन बाध्य भयो । प्रतियोगिताको म्यान अफ द म्याच विराटनगरका उत्सव राई घोषित भए । उनले नगद रु २५ हजार हात पारे ।    
    
चैत १६ गतेसम्म सञ्चालन हुने गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता हुने टिमले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार पाउने विराटनगर महानगरपालिकाका प्रमुख तथा गोल्डकपका संयोजक नागेश कोइरालाले उल्लेख गर्नुभयो ।     
    
गोल्डकपको उद्घाटन कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभएको थियो । उहाँले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार लागि पर्ने तथा खेल क्षेत्रलाई उच्च प्राथामिकतामा राखेर अघि बढ्ने योजनामा रहेको बताउनुभयो ।    
    
तत्कालीन राजा महेन्द्रको नामबाट २०१८ सालमा महेन्द्र गोल्डकपबाट सुरू गरिएको प्रतियोगिता पछिल्लो संस्करणका रूपमा २०५७ सालदेखि विराट गोल्डकपका रूपमा खेलाईदै आएको छ । पञ्चायत कालमा २७ पटक र बहुदल आएपछि विराट गोल्डकपका नामबाट साताँै प्रतियोगिता सुरू भएको हो । प्रतियोगिता सम्पन्न गर्न करिब रु दुई करोड ५० लाख खर्च लाग्ने आयोजकले उल्लेख गरेको छ ।    
    
शुक्रबारको खेल नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच हुने विराट गोल्डकपका सह–संयोजक सुवाशिष कोइरालाले जानकारी दिनुभयो ।    

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १२ : ५६ बजे