७ आश्विन २०८१, सोमबार | September 23, 2024

प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने निर्णय



काठमाडौँ, १० चैत :   
नेपाल सरकार, मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) पदमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई पदोन्नति गर्ने निर्णय गरेको छ ।    
    
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले कुँवरलाई आइजिपीमा बढुवा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको राससलाई जानकारी दिनुभयो । यही चैत ६ गतेको निर्णयले उहाँ एआइजीमा बढुवा हुनुभएको थियो । सरकारले उहाँलाई एआइजीको फूली लगाएको दुई दिनमै आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।    
    
प्रहरी महानिरीक्षकका लागि कुँवरसहित एआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा हुनुहुन्थ्यो । कुँवर अङ्क तालिकामा १ नम्बरमा हुनुहुन्थ्यो । यसपटक भने महानिरीक्षकको नियुक्ति निर्विवाद रूपमा भएको छ ।    
    
हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर हदका कारण अनिवार्य अवकासमा जाँदै हुनुहुन्छ । काम गर्न सक्ने सक्षम, कमाण्ड गर्न सक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले जो कोहीलाई पनि आइजिपी बनाउन सक्ने अवस्था कानूनी आधार छ । अब कुँवरको कार्यकाल आगामी २०८१ चैतसम्मका लागि हुनेछ । रासस

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १२ : ०८ बजे