७ आश्विन २०८१, सोमबार | September 23, 2024

प्रधानमन्त्री दाहालसँग कांग्रेस नेता खाणको भेट



काठमाडौँ १० चैत :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले भेटवार्ता गर्नुभएको छ।     
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावकारीरुपमा सञ्चालन गर्नेलगायत विषयमा कुराकानी भएको नेता खाणले जानकारी दिनुभयो ।    
    
 “प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटभयो । भेटमा समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावकारीरूपमा कसरी सञ्चालन गर्ने भन्नेबारेमा कुराकानी भयो,” नेता खाणले भन्नुभयो, “सङ्घीय सरकार विस्तार भएपछि प्रदेशहरूमा पनि गठबन्धन अनुकुलका सरकार विस्तार गर्नेबारेमा कुराकानी भयो ।” सो अवसरमा उहाँहरुबीच मन्त्रिपरिषद् विस्तार बारेसमेत कुराकानी भएको थियो ।    
    
 नेता खाणले आजै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटवार्ता गर्नुभएको छ । जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा पनि उहाँहरुबीच केन्द्र सरकार विस्तार, प्रदेशमा गठबन्धन अनुकूलको सरकार निर्माणलगायतबारे कुराकानी भएको नेता खाणले बताउनुभयो ।    
    
 गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघिको गठबन्धन सरकारमा गृहमन्त्री रहनुभएका नेता खाण प्रतिनिधिसभा निर्वाचनपश्चात् पनि लेनदेनमा सम्झौता गरेर भए पनि गठबन्धन टुटाउन नहुुने पक्षमा हुनुहुन्थ्यो ।    
    
 केन्द्र र प्रदेशमा हालको सत्ता गठबन्धन दलको सरकार निर्माणका क्रममा नेता खाणले प्रधानमन्त्री दाहाल र जसपा अध्यक्ष यादवसँग आज छुट्टाछुट्टै भेट गर्नुभएको हो । रासस    

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १२ : ५७ बजे