१ आश्विन २०८१, मंगलबार | September 17, 2024

नागरिको दैनिकी फेर्दै तमोर करिडोर   



    
  चैत्र,१९   
निर्माणाधीन तमोर करिडोरले धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ । अहिले तराईबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर आएका सवारीसाधन राजमार्गको मूलघाटमा जोडिएर गएको करिडोरबाट पाँचथर र ताप्लेजुङसम्म जाने गरेका छन् ।    
    
 तराईबाट उक्त दुई जिल्लासम्म जान करिडोरको बाटो छोटो पर्ने भएकाले यहाँ अहिले यात्रु तथा मालवाहक सवारीसाधनको चाप दैनिक बढ्ने क्रममा छ । यातायातको चाप बढेर चहलपहल बढेसँगै करिडोर आसपासका नागरिक होटल तथा व्यापारतर्फउन्मुख हुन थालेका छन् ।    
    
 विसं २०७० मा यस स्थानमा सडक पुगेसँगै आफू कृषिबाट होटल व्यवसायमा लागेको चौबिसे गाउँपालिका–५ हङ्समोरङ बेंसीकी रुपादेवी दाहालले जानकारी दिनुभयो । आफूसँग भएको तीन रोपनी जमिनबाट जीवनयापन असहज भइरहेका बेला करिडोरको व्यापारले आफ्ना तीन जनाको परिवारको जीवनयापनमा सहज भएको उहाँले सुनाउनुभयो ।    
    
 पहिला करिडोर लक्षित पसल तथा होटल कम भएकाले दैनिक रु तीनदेखि पाँच हजार कमाइ भए पनि हाल भने सडक छेउमा अनगिन्ति होटल सञ्चालनमा आएकाले व्यापारमा कमी आएको उहाँको भनाइ छ ।    
    
 त्यस्तै साँगुरीगढी गाउँपालिका–३ कुशेटारका ४६ वर्षीय खेम न्यौपानेले पनि गत वर्षबाट कृषि पेसा छाडेर सानो किराना पसल र होटल सञ्चालन गर्दै आउनुभएको छ । गत वर्षदेखि रु पाँच लाख लगानीमा व्यवसाय सुरु गरेको बताउने न्यौपानेले मासिक रु ४० हजारसम्म कमाइ हुने गरेको जानकारी दिनुभयो ।    
    
 पहिला कृषि पेसाबाट जीवनयापन असहज भएपछि वैदेशिक रोजगारीमा जानुभएका न्यौपानेले करिडोरमा चहलपहल बढेपछि व्यापारमा लागेको बताउनुभयो । पहिला बजार नपाएर त्यसै खेरजाने यहाँका उत्पादन अहिले करिडोर बनेपछि यसै ठाउँमा बसेर स्थानीयले मनग्य आम्दानी गरिरहेको उहाँले जानकारी दिनुभयो ।    
    
 करिडोरका कारण चौबिसे वडा नं ५ भैँसेटारका २६ घर माझी परिवारको जीवनमा पनि सहजता आउन थालेको छ । पारम्परिकरुपमा माछा मार्ने र खेतीपाती गर्दै आएका सो क्षेत्रका माझी पसल गर्ने तथा सवारीसाधनमा काम गर्नेतर्फ अग्रसर रहेको स्थानीय राजन माझीले बताउनुभयो ।    
    
 करिडोरमा दैनिक एक सयभन्दा बढी सवारीसाधन आवतजावत गर्ने भएकाले उनीहरुले तमोर नदीमा मारेको माछासमेत तत्काल र उचित मूल्यमा बिक्ने गरेको उहाँले जानकारी दिनुभयो । “पहिला मारेको माछा कहिले बिक्ला भनेर सुकाएर राख्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले तुरुन्त बिक्छ, हामीलाई जीवन चलाउन धेरै राहत भएको छ ।”    
    
 दुई वर्षअघिदेखि रु ४० हजारमा सामान्य किराना पसल खोलेका माझीले हाल गाउँमा सो समुदायका चार किराना सञ्चालन गरिरहेको जानकारी दिनुभयो । भारतको जोगवनीदेखि चीनको ओलाङ्चुङगोला जोड्ने दुई सय ५४ किमी लामो उक्त करिडोरको मूलघाट–पाँचथर सडकखण्ड अहिले ग्राभेल भएर कालोपत्रको चरणमा छ ।    

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ८ : १८ बजे