६ आश्विन २०८१, आइतबार | September 22, 2024

  बजेट बनाउनु पूर्व विज्ञ सम्मेलन 



 चैत्र,१९   
बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व विषयगत विज्ञहरुको सम्मेलन सुरु गरेको छ । विषयगत क्षेत्रको विकास गर्दै स्रोतसाधनको अधिकतम परिचालन गर्ने उद्देश्यले पालिकाले विज्ञ सम्मेलन आयोजना गरेको हो ।    
    
शनिबारदेखि सुरु भएको सम्मेलन आज सम्पन्न हुदैँछ । सम्मेलनमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र बाँदर नियन्त्रणसम्बन्धी विज्ञको सहभागिता रहेको नगरप्रमुख नरबहादुर पुनले बताउनुभयो । “विज्ञको परामर्शमा काम गर्दा प्रभावकारी हुने भएकाले समृद्ध जैमिनी नगर निर्माणका लागि विज्ञको भेला गरिएको हो । सम्मेलनमार्फत हामीले विषयगत क्षेत्रमा आधारभूत तहसम्मको ज्ञान उपलब्ध गर्ने अवसर मिलेको छ”, उहाँले भन्नुभयो ।    
    
पालिकाले विकासको मोडल, अहिले भए गरेका काममा रहेका समस्या र आगामी कार्यायोजना बनाउँदा अपनाउनुपर्ने विधिका विषयमा विज्ञसँग छलफल गरिएको छ । सम्मेलनमा पालिकाका सबै क्षेत्रका कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता छ ।    
    
सम्मेलनमा कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा गोविन्द आचार्यले कृषि, गण्डकी प्रदेशको कृषि उर्जा तथा जलस्रोत मन्त्रालयका डा ग्रिष्म न्यौपानेले पशु विकास, लोक सेवा आयोग केन्द्रिय कार्यालयका उप सचिव देवीप्रसाद सुवेदीले अर्थ÷सार्वजनिक वित्त व्यवस्थापन, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डाक्टर विमल चालिसेले स्वास्थ्यका विषयमा सहजीकरण गर्नुभएको छ ।    
    
त्यस्तै शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले शिक्षा, पोखरास्थित पूर्वाधार विकास निर्देशनालयका इञ्जिनीयर रामबाबु पौडेलले पूर्वाधार विकास, छत्रदेव गाउँपालिका गुल्मीका पूर्व अध्यक्ष लेखनाथ पोखरेलले बाँदर नियन्त्रण, कृषि अनुसन्धान निर्देशनालय लुम्लेका वरिष्ठ बाली वैज्ञानिक रमेश आचार्यले कृषि अनुसन्धान र नेपाल नगरपालिका सङ्घ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष इञ्जिनीयर दीपकबाबु कँडेलले स्थानीय तह विकासका विषयमा छलफल गर्ने कार्यक्रम छ ।    
    
“हामीले सगरमाथा चड्ने लक्ष्य राखेका छौँं, त्यहाँ पुग्नका लागि उचाइ, बाटो र बन्दोबस्तीका विषयमा सगरमाथाका बारेमा ज्ञान भएका व्यक्तिले बताउँनुहुन्छ । नगरको विकासका लागि उहाँहरुले बाटो देखाइदिनुहुन्छ, हामीले कडा मेहनत गरेर लक्ष्य प्राप्ति गर्ने छौँं”, नगर प्रमुख पुनले भन्नुभयो । विज्ञले दिएका सुझावका आधारमा आगामी योजना बनाइने उहाँको भनाइ थियो ।    
    
विज्ञताबिना योजना बनाउँदा काम र व्यवहारिकता फरक पर्ने भएकाले नगरले विज्ञसम्मेलन गरेको उपप्रमुख हरिहर शर्माले बताउनुभयो । जैमिनीले सुरुवात गरेको सम्मेलन जिल्लाका अन्य स्थानीय तहका लागि पनि सिकाइको विषय हुने जिल्ला समन्वय प्रमुख अमर थापाले बताउनुभयो ।    

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ९ : ०७ बजे