१२ मंसिर २०८१, बुधबार | November 28, 2024

सुनछहरी गाउँपालिकाद्वारा आँखा केन्द्र सञ्चालन



चैत्र,२०

सुनछहरी गाउँपालिकामा विभिन्न सहयोगी निकायसँगको सहकार्यमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा ल्याइएको छ । द फ्रेड हलोज फाउण्डेशनको सहयोगमा नेपाल आँखा कार्यक्रम तिलगङ्गाको सहयोग र सामुदायिक आँखा केन्द्र रोल्पाको सहकार्यमा आँखा के्रन्द्र स्थापना भएको हो ।    
     
केन्द्र स्थापनाको अवसरमा केन्द्रले निःशुल्क आँखा जाँच तथा औषधि वितरण गरेको थियो । जसमा कूल ५३ महिला र ४५ पुरुषको आँखा जाँच गरिएको थियो । सो अवसरमा आँखा जाँच गरिएकामध्ये पाँच जनाको मोतिया विन्दुको शल्यक्रिया गर्नुपर्ने र ४५ जनालाई चश्मा प्रयोग गर्न सिफारिस गरिएको थियो । साथै ५६ जनालाई भने निःशुल्क औषधि वितरण गरिएको थियो ।    
    
आँखा केन्द्रको खर्च एक वर्षसम्म द फ्रेड हलोज फाउण्डेशनको सहयोगमा नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँले बेहोर्नेछ । यसका फाउण्डेसनले लागि करिब रु २० लाख बराबरको सामग्री र एक वर्षसम्मको जनशक्ति व्यवस्थापन गर्नेछ ।    
    
एक वर्षपछि आँखा केन्द्रको समग्र व्यवस्थापन गाउँपालिकाले लिने सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरले जानकारी दिनुभयो । आँखा केन्द्रमा आँखाको नियमित जाँचका साथै चस्मा वितरण र सामान्य शल्यक्रियाका साथै औषधिसमेत वितरण गरिनेछ ।    

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ९ : १५ बजे