४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत थम्पसनबीच शिष्टाचार भेट



चैत्र-२२

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदुत डिनआर थम्पसनले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।    
    
गृहमन्त्रालयमा आज भएको शिष्टाचार भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ । त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार सङ्क्रमणकालीन न्याय निरुपणसम्बन्धी विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको र नेपालका हितैषी अन्तर्राष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।    
    
सङ्क्रमणकालीन न्यायका काम पूरा गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबीन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि त्यससम्बन्धी विधेयक संसद्मा पेस भइसकेको समेत उहाँले बताउनुभयो । राजदूत थम्पसनले अमेरिकाले नेपालको शान्तिप्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफू र आफ्ना कूटनीटिक साझेदारसँग यसको सहजताका लागि पहल लिने बताउनुभयो । राजनीतिक अस्थिरताले विकासमा पार्न सक्ने प्रभावका बारेमा राजदूत थम्पसनले चासो लिएकोमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संवैधानिक अभ्यासमै रहेकाले यसले विकासनिर्माणलाई प्रभावित नगर्ने बताउनुभयो ।    
    
राजदूत थम्पसनले नेपाली लोकतन्त्रको सुदृढीकरणका लागि अमेरिकाले पूर्ण सहयोग गर्ने बताउनुभयो । कोभिडपछि अमेरिकी सहयोग संस्था पिसकोरको काम प्रभावित भएकाले पिसकोर कार्यकर्ताको प्रवेशाज्ञा सहजताका लागि राजदूत थम्पसनले आग्रह गर्नुभएकोमा उपप्रधानमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर यसलाई सहज बनाइने बताउनुभयो ।    
    
नेपालमा अमेरिकी लगानी, कार्यरत संस्था तथा यसका कर्मचारीको सुरक्षामासमेत राजदूतले चासो राख्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले त्यसमा पूर्ण सुरक्षा हुने बताउनुभएको उपप्रधानमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिनुभयो ।    

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ११ : १४ बजे