८ आश्विन २०८१, मंगलबार | September 25, 2024

डढेलो फैलिन थालेपछि बस्ती जोखिममा



चैत्र-३०

उदयपुरको सदरमुकाम गाईघाट आसपासकासका जङ्गल क्षेत्रमा शनिबारदेखि डढेलो फैलिन थालेपछि यहाँका बस्ती जोखिममा परेका छन् ।    
    
त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा फैलिँदै गएको छ । मानवबस्तीसम्म डढेलो फैलिन थालेपछि साउने, असारी र भुसुने क्षेत्र आसपासका झन्डै सात सयभन्दा बढी घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । त्रियुगा नगपालिका–१३ असारी, भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो फैलिएर घर नजिकसम्म पुग्न थालेको भुसुनेको कर्णबहादुर रायले बताउनुभयो । गाउँलेले मिलेर डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् ।    
    
डिभिजन वन कार्यालय गाईघाटका अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले जङ्गलमा घाँसदाउरा गर्ने र गोठालो जानेले आगो लगाएको बताउनुभयो । डिभिजन वन कार्यालय कटारीअन्तर्गत एक सय ५४ र गाईघाटअन्तर्गत दुई सय पाँच सामुदायिक वन छन् । एक महिनाअघि पनि यसरी नै विभिन्न सामुदायिक वनमा डढेलो लागेको थियो । वर्षा भएपछि डढेलो नियन्त्रणमा आएको थियो ।    
–––  

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ९ : ०८ बजे