८ आश्विन २०८१, मंगलबार | September 25, 2024

सर्लाहीका दुई पालिकाका साढे छ सय अति विपन्नलाई खाद्यान्न सहयोग



चैत्र-३०

हरिपुर र ईश्वरपुरका करिब साढे छ सय अति विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग प्राप्त भएको छ । हरिपुर नगरपालिका–३, ५ र ६ का तीन सय ८८ र ईश्वरपुर नगरपालिका–१ र ३ का दुई सय ५८ गरी छ सय ४६ अति विपन्न परिवालाई बागमती सेवा समाज हरिवनले खाद्यान्न सामग्री सहयोग गरेको हो ।    
    
 समाजले इस्लामिक रिलिफ नेपालको सहयोगमा खाद्यान्न सामग्री सहयोग प्रदान गरेको हो । अति विपन्न, दलित तथा अशक्त परिवारलाई खाद्यान्न वितरण गरिएको समाज हरिवनका अध्यक्ष भरतकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना महामारीपछि बेरोजगार बनेका र घरव्यवहार चलाउन निकै समस्या रहेका अति विपन्न परिवारको पहिचान गरी सम्बन्धित वडा कार्यालयले उपलब्ध गराएको नामावलीअनुसार खाद्यान्न वितरण गरिएको हो ।    
    
 प्रतिपरिवार रु पाँच हजार छ सय २५ बराबरको खाद्यान्न तीन दिनभित्र वितरण गरिसक्ने गरी वितरण सुरु गरिएको समाजका कार्यक्रम संयोजक गजेन्द्र साहले जानकारी दिनुभयो । उहाँका अनुसार चामल, दाल, तेल, चिनी, नुन, चना, मसला, चियापत्तीलगायत वितरण गरिएको हो ।    
    
 आफूहरु कोरोना महामारीपछि बेरोजगार भएको र अहिले देशको खस्कँदो अर्थतन्त्रका कारण मारमा परेको समयमा सहयोगी दाताले खाद्यान्न सहयोग गरेर ठूलो राहत मिलेको हरिपुरका स्थानीय इस्मुलानीसाले बताउनुभयो ।    

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ६ : ५३ बजे