१३ आश्विन २०८१, आइतबार | September 30, 2024

माटोमा अम्लीपनको मात्रा अधिक



बैशाख,७

गोरखामा नमुना परीक्षण गरिएका कृषियोग्य जमिनको माटोमा अम्लीयपनको मात्रा बढी भएको पाइएको छ । कृषि ज्ञानकेन्द्र गोरखाले जिल्लाको विभिन्न तीन स्थानीय तहमा गरेको माटो परीक्षणका क्रममा परीक्षण गरिएकामध्ये ५४ दशमलव २२ प्रतिशत स्थानको माटोमा अम्लीयपनको मात्रा बढी भएको पाइएको केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो ।    
    
केन्द्रले भीमसेन थापा गाउँपालिकामा मोबाइल भ्यानसहितको उपकरणबाट र गोरखा नगरपालिका तथा पालुङटार नगरपालिकाका किटबक्स विधिबाट दुई सय ८४ स्थानको माटोको नमुना परीक्षण गर्दा धेरैजसो स्थानका माटोमा अम्लियपनको मात्रा अधिक रहेको पाइएको उहाँले बताउनुभयो । “कषियोग्य जमिनको माटोको अवस्था जाँच गर्दा आधाभन्दा पनि धेरै स्थानको माटोमा अम्लियपन देखियो, उहाँले भन्नुभयो, “अम्लीयपन देखिनु भनेको माटो बिरामी छ वा उक्त माटोको उपचार आवश्यक छ भन्ने बुझ्नपर्छ ।” माटोमा ६ देखि सात पिएचसम्म अम्लियपन रहे त्यसलाई राम्रो मानिन्छ ।    
    
त्यस्तै ६ पिएच भन्दामुनि र सात पिएच भन्दामाथि अम्लियपन भएको माटो खराब मानिन्छ । अम्लियपन भएको माटोमा जुनसुकै खेती गर्दापनि जति उत्पादन हुनुपर्ने हो त्यो हुन नसक्ने भएकाले माटोको उपचार गरेर खेती गर्नुपर्ने उहाँले बताउनुभयो । ‘माटोलाई न्युट्रल अवस्थामा ल्याउनका लागि आवश्यक उपचार गर्नुपर्छ, प्रमुख अधिकारीले भन्नुभयो, “परीक्षण गरिएकामध्ये ४५ दशमलव ७८ प्रतिशत स्थनको माटो मात्र कृषि उत्पादनका हिसाबले ठिक छ ।”प्रमुख अधिकारीले गोरखा नगरपालिकाका– १ सय २६ स्थानको माटो परीक्षण गरिएको बताउनुुभयो ।    
    
त्यस्तै भीमसेन थापा गाउँपालिकाको एक सय १५ स्थान र पालुङटार नगरपालिकाको ४३ स्थानको माटो परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । सो मध्ये सय एक सय ५४ स्थानको माटोमा अम्लियपन बढी भएको पाइएको र एक सय ३० स्थानको माटो तटस्थ रहेको पाइएको उहाँको भनाइ छ ।    
    
त्यस्तै परीक्षण गरिएकामध्ये ३३ दशमलव ८ प्रतिशत स्थानको माटोमा नाइट्रोजनको मात्रा कम भएको ३६ दशमलव २ प्रतिशत स्थानको माटो मध्यम रहेको र ३० प्रतिशत स्थानको माटोमा नाइट्रोजनको मात्रा पनि बढी रहेको पाइएको प्रमुख अधिकारीले बताउनुभयो ।    
    
    
 ३२ दशमलव ८ प्रतिशत स्थानको माटोमा फस्फोरसको मात्रा कम, २५ प्रतिशत स्थानको माटोमा मध्यम र ४२ दशमलव २ प्रतिशत स्थानको माटोमा फस्फोरसको मात्रा अधिक रहेको पाइएको उहाँको भनाइ छ । माटोको परीक्षणबाट ती स्थानको माटोमध्ये ३६ दशमलव ६ प्रतिशत स्थानको माटोमा पोटासको मात्रा न्यून रहेको, २६ दशमलव ०५ प्रतिशत स्थानको जमिनको माटोमा मध्यम तथा ३७ दशमलव ३५ प्रतिशत स्थानको माटोमा पोटासको मात्रा अधिक रहेको पाइएको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।    
    
 परीक्षण गरिएको माटोको अबस्था हेर्दा माटो बिरामी रहेकाले उपचार अनिबार्य रहेको उहाँले बताउनुभयो ।    
“एसिडिटी बढी हुँदा बालीले खाद्य तव्व लिनसक्दैन, बोट बिरुवालाई रोगले आक्रणम बढी गर्छ, उपचार नगरी खेती गर्ने हो भने किसानले गरेको मेहनत अनुसारको प्रतिफल प्राप्त गर्न सक्ने अबस्था हुदैन”, प्रमुख अधिकारीले भन्नुभयो, “केन्द्रले माटो उपचारका लागि आबश्यक परामर्स उपलब्ध गराउने भएकाले दिएको परामर्स कार्यान्व्यन गरे दुई बाली लगाउदासम्ममा माटो सुधार भइसक्छ ।” माटोको सुधार नगरी खेती गर्दा उत्पादन अत्यन्त न्युन हुने भएकाले कृषि उत्पादनमा बृद्धि गर्नसक्ने अबस्था नरहने प्रमुख अधिकारीको भनाइ छ ।रासस

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  १ : २७ बजे