१३ आश्विन २०८१, आइतबार | September 29, 2024

एमालेले भ्रष्टाचारीलाई जोगाउँदैन : अध्यक्ष ओली



काठमाडौँ, २५ वैशाख :
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले भ्रष्टाचारीलाई जोगाउने पक्षमा आफू नरहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको पहिलो बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले एमालेले कसैको पनि दोषको ढाकछोक नगर्ने बताउनुभयो ।

“एमालेले कसैको पनि दोष र अपराधलाई ढाकछोक गर्दैन”, अध्यक्ष ओलीले भन्नुभयो, “कोही पनि दोषीलाई एमालेले बचाउ गर्दैन र भ्रष्टाचार कसैले गर्छ भने जान्छ । व्यक्तिगत भ्रष्टाचारलाई एमाले पनि समर्थन गर्दैन ।” उहाँले एमालेविरुद्ध षड्यन्त्र हुन्छ भने त्यसको मुकाबिला गर्न आफू तयार रहेको बताउनुभयो । अध्यक्ष ओलीले भ्रष्टाचारको मुद्दामा प्रमाणले तानिनुपर्ने भन्दै केही दिनअघि गिरफ्तार भए पनि मान्छेलाई किन छाडियो भनेर प्रश्न गर्नुभयो ।

उहाँले नक्कली भुटानी शरणार्थीका सम्बन्धमा प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताउनुभयो । “दोषीलाई न्यायको कठघरामा उभ्याउनु पर्दछ । निर्दोषलाई फसाउने कोसिस गर्नुहुँदैन”, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  १२ : ३४ बजे