१३ आश्विन २०८१, आइतबार | September 29, 2024

अनुशासनहिनता, अतिवादिता र आत्म केन्द्रित चिन्तन नै आजकाे जड समस्या



बैकुण्ठ भूषाल

भनिन्छ मूलनै धमिलिए पछि खाेला कसरी सङलिन्छ र । नेपाली राजनीति, समाज, सँस्कृति र अर्थ प्रणालीमा देखिएकाे मुख्य समस्या यही नै रहेकाे छ। धेरै पहिला उखान सुन्न पाइन्थ्याे नेपाल हल्लै हल्लाकाे देश हाे । कतै हामी त्यही उखानलाई चरितार्थ बनाउन लागिरहेका त छैनौँ, साेच्नै पर्ने वेला आएकाे छ । जति उफ्रे पनि भ्यागुताे कान्लै मुनि भने झैँ, विश्व सेराेफेराेमा नेपालकाे स्थिर र परिपक्व उपस्थिति किन हुन सकिरहेकाे छैन । आजकाे एक्काइसौँ सताब्दीमा पनि नेपाली अर्थ राजनीतिले किन परिपक्वता हासिल गर्न सकेन, समस्या पहिचान र समाधानका उपायहरुकाे खाेजी र कार्यान्वयन अहिलेकाे टड्काराे आवश्यकता हाे भन्न सकिन्छ ।
सम्भावन‌ै सम्भावनाले युक्त देशमा हामी किन सम्भावनाहिन हुन पुग्यौँ त अब पानी माथिकाे ओभानो हुन खाेजेर उम्कीन सकिँदैन ,दुधकाे दुध पानीकाे पानी छुट्याउनु पर्दछ। प्रकृतिले कसैलाई हिराे र कसैलाई जीराे बनाएर जन्म दिएकाे हुँदैन यसैले आइ एम सुपर हिराे भन्ने मुर्खताले आफैलाई कतै जिस्काइरहेकाे त छैन भन्ने हेक्का रहनु पर्दछ । हरेक व्यक्तिमा एउटा न एउटा प्रतिभा लुकेकाे हुन्छ ,फूलबारीमा जति फूल फुलेपनि तिनीहरुकाे आ आफ्नै शाेभा शौन्दर्य र सुवासना हुन्छ । सबै मिलेर नै फूलबारीलाई शाेभायमान बनाइरहेका हुन्छन् ।मानव समाज पनि त सबैकाे सहभागितामा सबैकाे उठाइमा समानता र सह अस्तित्वमा नै शाेभा सौन्दर्य बन्न सक्दछ ।

हामीलेहरेक महामारीबाट पाठ सिक्नु पर्ने हाेइन र । ०७२सालकाे भूकम्पले राजनीतिक क्षेत्रमा निकटता, उदारता र सचेतनाकाे पाठ सिकाएकाे कुरा ब्यवहारबाट नै पुष्टी भएकाे थियाे । काेभिडकाे महामारीबाट जे जति सचेतना हुनुपर्थ्याे, दूरतामा हल्ली खल्ली र नकरात्मक टकरावमा रुमल्लिनु भन्दा एकतामा नै सबलता खाेज्नु पर्नेमा खिचातानीमा अल्झिने र गालीगलौज ,अहङ्कार र मखिमुन्टे चित्तमा नै नेपाली राजनीति मञ्चित हुँदै जाँदा जनमानसिकतामा आशावादिता हाेइन निराशा छाइरहेकाे छ ।
सफल राजनीतिले समाजलाई वदल्न सक्नुपर्दछ, समाजका इच्छा, आवश्यकतालाई सम्बाेधन गर्दै, सपनाहरुलाई फुलाउन र फलाउन सक्नुपर्दछ । म सुरक्षित छु , म राज्यबाट पूर्ण संरक्षित छु, भन्ने भाव जबसम्म हरेक नागरिकमा अन्तष्करणबाट नै जुर्मुराउँदैन तबसम्म राजनीति र राज्य संचालककाे उच्च सम्मान ,आस्था र मर्यादा कायम हुन सक्दैन ।

परिस्थितिले सिद्धान्त निर्माण गर्ने हाे कि सिद्धान्तले परिस्थिति निर्माण गर्ने हाे गहन साेचनीय विषय रहि आएकाे छ । नेतृत्व समाजलाई गतिशील, स्वच्छ, मर्यादित र सङ्लाे बनाउन चाहिने हाे की गतिहीन, अस्वच्छ, अमर्यादित र धमिलाे बनाउन आवश्यक हुन्छ, गम्भीर प्रश्न बनेकाे छ । अस्वच्छ टकराव र नग्न उदाङगीकरणकाे सँस्कारले हामी कति उच्च सँस्कारित भइरहेछौँ, बेँसीकै यात्राबाट हामी कति अग्लीइरहेछौँ सबैमा हेक्का रहनु पर्दछ ।

म, म, फेरि पनि म, मैले, मैले फेरि पनि मैले, मलाई, मलाई, फेरि पनि मलाई भन्ने भावबाट हामी कति दम्भी भइरहेछौँ, हाम्रा अहङकारबाट कति नीरिह बसिभूत भइरहेछन् । हामी किन हामीकाे भावमा उच्च सँस्कारयुक्त नवीन युगका सभ्य, सुसँस्कृत मानव बन्न सकिरहेका छैनौँ । शिक्षाले हामीलाई बदल्याे कि शिक्षालाई हामीले बदल्यौँ, समस्या यहीँ नै छ । हामी कुन धरातलमा उभिएर अरुलाई हाेच्याइरहेछौँ ,अरुलाई हाेच्याइ रहँदा आफू कति अग्लाे बन्यौँ ,कति सङलाे बन्यौँ , देशकाे सार्वभौमिकता कति उठायौँ भन्ने कुराकाे अध्ययनबिना नै हाम्रा कार्य व्यवहार संचालित हुँदा
सँस्कारहिनता र मूल्यहिनतामा न‌ै कुहिराेकाे कागसरि हामी रुमल्लिइरहेछौँ ।
कति रुमल्लिइरहने ,शब्दाडम्बरमा कति कुर्लिरहने ,हिमानी रम्यभूमिमा कुरुपताकाे खेती कसरी गरियाे,कसले गर्याे ,किन गरियाे ,समय अवरुद्घि क कसले गरिरहेछन एक एक जवाफ खाेज्न‌‌ै पर्ने वेला आएकाे छ ।

लाभ लागत विश्लेषणबिनाकाे कार्यले समस्या ल्याइरहेछ ,जसका कारणअर्थतन्त्रमा अपेक्षकृत सुधार हुन सकिरहेकाे छैन ,हेलाे इफेक्टका आधारमा भन्दा पनि आवश्यकता र महत्वका आधारमा याेजना छनोट र कार्यान्वयन हुनु पर्दछ । न्यूनतम लगानी र अधिकतम प्रतिफलका आधारमा वातावरण मैत्री ,र मानव मूल्य सिद्धान्तमा आधारित न्ययाेचित विकास नै आजकाे सर्वोपरि आयवश्यकता हाे ।प्राथमिकता निर्धारणका लागि उच्चस्तरीय स्वतन्त्र संयन्त्र बन्नु पर्दछ । त्याे वास्तवमा नै स्वतन्त्र र परदर्शी बन्न सक्नु पर्दछ ।
आफ्नाे सम्मान चाहनेले अरुकाे पनि सम्मान गर्न सक्नु पर्दछ ।आखिर अरुलाई हाेच्याएर आफू कदापि अग्लाे हुन सकिँदैन , अरुलाई अग्लाे हुन दिएर मात्र आफू पनि अग्लाे हुन सकिन्छ ।सकरात्मक चिन्तनबाट नै संसार बदल्न सकिन्छ ।

कत‌ै डाइजन खानु पर्ने ,पचाउन ,कत‌‌ै डाइजन खानु पर्ने बाँच्न भने झैँ निम्न पूँजीवादी दलदलका कारण नाता वाद कृपा वाद , शान ,मान र अवसरकाे आडमा पदमा टिकीरहने यत्न ,अर्काेतर्फ उसैलाई महान मान्ने भ्रमित माेहजालमा परेर महामानव ,युवा नेता भनेर पुलकित गर्दै क्षणिक अवसरकाे स्याल घुमाइ नै युगानुकूल नेतृत्व स्थापित हुन नसक्नुकाे प्रमुख समस्या हाे । असल र इमान्दार नेतृत्वबिना कुनै देशपनि युगान्तकारी परिवर्तनकाे दिशामा अगाडि बढ्न सक्दैनन् ।आज नेतृत्वलाई अति दानवीकरण र देवत्वकरण गर्ने परिपाटी विकसित भएको छ। नाङ्गे राजाकाे कथाजस्त‌ै सवलता दुर्वलता काे ख्याल नगरी कुर्लने आडम्बरी शैली नहटेसम्म सक्षम र सवल नेतृत्व न त स्थापित हुन नै सक्दछ ,न त त्यस्ताे व्यक्तिले अवसर नै पाउँदछ । मन पर्नेकाे कुरुपतालाई पनि सुरुप देख्ने मन नपर्नेकाे सुरुपतालाई पनि कुरुप देख्ने प्रवृत्तिले नै नेतृत्वले आफूलाई समयसापेक्ष सुधार गर्ने अवसर पाउँदाे रहेनछ । सरदर सबै मानिस मानिस नै हाे ,सब‌ैले आत्म गौरव गर्ने ,प्रतीभा प्रष्फुटित गर्ने र आफ्ना सपना साकार पार्ने अवसर पाउनु पर्दछ ।
समय अवरुद्धी नै आजकाे मुख्य समस्या हाे ।समयकाे प्रवाहसँगै सामाजिक ,राजनैतिक ,आर्थिक ,साँस्कृतिक गतिशीलता किन हुन सकिरहेकाे छैन । यसैले अवरुद्धीबाट सबैकाे जीवनमा आउने असर र प्रभावकाे गहन अध्ययन गरिनु पर्दछ र त्यसै अनुसारकाे सुधार गरिनु पर्दछ । आज राजनैतिक क्षेत्रमा यति धेरै असन्तुष्टि आउनुकाे कारण के हाे , किन राजनैतिक स्थिरता र सुशासन कायम हुन सकिरहेकाे छैन सबैले हेक्का राख्नु पर्दछ ।

भ्रष्टाचार मात्र नियन्त्रण गर्न र निर्वाचन प्रक्रिया स्वच्छ र सरल एवम् धाँधलीरहित बनाउन नसक्ने नेतृत्वले गफै ठूला गरेर मात्र हुन्छ र।यसैले आजकाे पहिलाे आवश्यकता भनेकाे याे वा त्याे नाममा गरिने ठगी धन्दा र भ्रष्टचार नियन्त्रण नै हाे ।एउटाले दसौँ वर्ष कमाउने रकम अर्काेले एकै वर्षमा न‌ै कुम्ल्याउँछ अनि मेहनत गर्नेलाई कहाँबाट आउँछ काम गर्ने जाँगर र उत्साह ।विदेश जानेले जीवनभर दुःख गरिरहन्छ यता अर्काेले नातावाद कृपावाद र चाकडीका आधारमा अवसर पाइनै रहन्छ ,उसले साेचे जस्ताे ,देखे जस्ताे देश बन्दैन अनि किन नआओस निराशा र हिनता ।यसैले हाम्रा कार्य शैलीले उत्पादनमा लाग्नेलाई समेत उत्साह हाेइन हताेत्साहित बनाइरहेछ अनि कसरी हुन्छ नेतृत्वप्रति विश्वास र कसरी हुन्छ देशकाे समृद्धि र रुपान्तरण हाम्राे पुरस्कार र दण्ड व्यवस्था नै आग्रहरहित ,स्वतन्त्र र पारदर्शी हुन कहिल्यै सकेन । गर्ने गाेरु खाने घाेडा भने झैँ ,जबसम्म याेग्यता ,क्षमता ,रुचि र तत्परताका आधारमा समन्यायिक वितरण प्रणाली स्थापित हुन सक्दैन तबसम्म समता ,समानता र न्यायपूर्ण समाज स्थापनाकाे नारा भट्याइरहनुकाे कुनै उपादेयता रहँदैन ।
यसैले आ आफ्नाे क्षेत्रमा अनुशासित बन्न सक्नु नै आजकाे आवश्यकता हाे ।११७अौँ स्थानमा भ्रष्टाचार गर्ने देशकाे सुचिमा परिरहँदा हामी सबै मिलेर भ्रष्टाचारीलाई कडाभन्दा कडा कार्वाही गर्दै भ्रष्टाचारलाई किन निर्मूल गर्न सकेनौँ , अनि यति काम समेत गर्न नसक्ने हामीले किलाेकाे हाेडबाजी गर्द‌ै माला लगाइदिने र माला लगाउने खाेक्राे आडम्वर कति व्यवहारिक हाेला सबैले म, म गर्दै सच्चिनु पर्ने वेला आएकाे छ । कितावका माछा नखाने खाेलाका माछा खाने हाम्रो प्रवृत्ति नै वर्तमान समस्याकाे मूलभूत कारक बनिरहेकाे छ ।
सिद्धान्तलाई मागी खाने भाँडाे बनाउने, भौतिक लालसाकाे हाेडले माेहान्ध हुने म कहाँ छु ,मेराे धरातल कुन हाे भन्ने बिर्सने ,देशकाे अवस्था कहाँनेर छ ,विश्व श्रम बजारमा कति गलित ,थकित र अपहेलित भावमा रगत ,पसिना ,परिश्रम र आँशु सिँचने असल सपूतहरुकाे कारुणिक कथा र गाथा कति हृदयस्पर्शि र मर्मस्पर्शि छ त्यसलाई हेक्का राखेर राजनीतिक ,साँगठनिक, पद र अवसरहरुकाे पुनरसंरचना गरिनु र त्यसै अनुसारकाे साँगठनिक ,राजनैतिक ,सँस्थागत र क्षेत्रगत अनुशासित र निष्ठावान एवम् कर्तव्यनिष्ठ नेतृत्व र संगठन निर्माण नगरिएसम्म समृद्धि, रुपान्तरण र सुशासन कायम हुन सक्दैन । यसैलाई मध्यनजर गर्द‌ै आ आफ्नाे कर्तव्य क्षेत्रमा तन ,मन र वचनले लाग्नु नै हामी सबैकाे आजकाे प्रमुख अभिभारा हाे ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ५ : २३ बजे