६ आश्विन २०८१, आइतबार | September 22, 2024

मेलम्ची पुनर्निर्माणमा जम्मा १५ प्रतिशत बजेट खर्च !



जेठ-११

२०७८ असार पहिलो साता अकस्मात् आएको बाढीले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणमा विनियोजन गरेको बजेटको न्यून खर्च भएको पाइएको छ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले गरेको स्थलगत अनुगमनबाट पुनर्निर्माणमा छुट्याइएको कुल बजेटको १५ प्रतिशत मात्रै खर्च भएको पाइएको हो ।

नेपाल सरकारले चालु आर्थिक वर्षमा मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण र काठमाडौँ उपत्यकाको थोक खानेपानी प्रसारण सम्बन्धमा २ अर्ब ५० करोड २७ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर वैशाख मसान्तसम्मको अवधिमा कुल विनियोजित बजेटमध्ये ३७ करोड ३५ लाख रुपैयाँ मात्रै खर्च हुन सकेको हो । यो विनियोजित बजेटको १४.९२ प्रतिशत हो ।

समितिले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासहितको नेतृत्वमा जेठ १ गते मेलम्चीको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा आयोजनाले दिएको विवरण अनुसार विनियोजित बजेटको १५ प्रतिशत मात्रै खर्च भएको पाइएको समितिकी सभापति दिलकुमारी रावल थापाले जानकारी दिइन् । उनका अनुसार आयोजनाको भौतिक प्रगतिसमेत न्यून देखिएको छ ।

अनुगमनमा अध्यक्ष तिमल्सिना, सभापति थापासहित १२ जना सांसद मेलम्ची पुगेका थिए । २०७८ असार १ गते आएको बाढीले आयोजनाको हेडवर्क्स पूर्ण रूपमा क्षति गरेको थियो । सोही कारण आयोजनाबाट वर्षायाममा काठमाडौँ उपत्यकामा पानी आउँदैन । सुक्खायाममा वैकल्पिक माध्यमबाट दैनिक १७ करोड लिटर खानेपानी प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरणका लागि उपलब्ध गराइँदै आएको छ ।

उक्त बाढीका कारण आयोजनाको हेडवर्क्ससम्मको पहुँच मार्गका रूपमा रहेको पुलहरूमा समेत पूर्ण क्षति पुर्‍याएको थियो । त्यो पुनर्निर्माणका लागि सबै प्रकारका यातायातका साधनको उपलब्धतामा पनि समस्या सिर्जना भइरहेको छ । यस्तै आयोजनाले याङ्री र लार्के नदीको पानीसमेत मेलम्चीमा मिसाउनका लागि डाइभर्सनको कामका लागि मुख्य प्रवेश मार्ग निर्माणको कामसमेत अघि बढिरहेको र २०८१ असारसम्म निर्माण सम्पन्ने गर्ने योजना सरकारको छ ।

सन् २००० मा मेलम्ची खानेपानी आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयारी गरेको अवधिदेखि हालसम्म आयोजना निर्माणमा २३ वर्ष बितिसकेको छ । दुई दशकभन्दा बढी समय बित्दासमेत आयोजनाको निर्माण पूर्ण रूपमा सम्पन्न गर्न भने झनै मुस्किल देखिएको स्थलगत अनुगमनका पुगेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

बाढीका कारण वर्षायाममा पानीको वितरण प्रणाली रोकिए पनि १२ महिना नै आयोजना सञ्चालन गर्न समस्या भएको पाइएको छ । विनियोजित बजेटको जम्मा १५ प्रतिशत खर्च हुँदा पनि वर्षभरि सञ्चालनमा समस्या आइरहेको देखिन्छ । यस्तै क्षतिग्रस्त संरचना निर्माणका लागि हेडवर्क्सका गेट र अडिट सुरुमा, मेकानिकल पार्टसको जडानलगायतका संरचना निर्माण तथा सुधार गर्नुपर्ने बताइएको छ । चालु आर्थिक वर्ष २०७९/८० को माघ महिनासम्मको अवधिमा पुनर्निर्माणको भौतिक प्रगति भने ३५ प्रतिशत भएको समितिको स्थलगत अनुगमनबाट खुलेको छ ।

यस्तै दोस्रो चरणको सुन्दरीजल पानी प्रशोधन केन्द्रको निर्माणका लागि बजेट स्वीकृत भई २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य सरकारको छ ।

२०७८ सालमा आएको बाढीका कारण हेडवर्क्सको पूर्ण क्षति भएको अध्ययन प्रतिवेदन बुझाउनै धेरै समय लागेको देखिएको छ । जस कारण हेडवर्क्स पुनर्निर्माणको काम प्रभावित बनेको समेत पाइएको छ । २०७८ मङ्सिर १२ देखि वैकल्पिक प्रणालीबाट दैनिक १७ करोड लिटर खानेपानी प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरणका लागि उपलब्ध भए पनि खानेपानी समस्या दिगो रूपमा समाधान हुन सकेको छैन ।

यस्तै हेडवर्क्स निर्माण स्थलसम्म पुग्ने पहुँच मार्गका रूपमा विकास गरिएको सडक र पुलहरूमा बाढीले क्षति पुर्‍याउँदा आयोजनाको निर्माण कार्य नै कठिन भएको समेत पाइएको छ । यस्तै सोही अन्तर्गत रहेको काठमाडौँ उपत्यका थोक खानेपानी प्रसारण आयोजना दोस्रोको जग्गा प्राप्ति र मुआब्जा तथा क्षतिपूर्ति वितरणको काम पूर्ण रूपमा सम्पन्न भएको छैन । मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न गर्नका लागि स्थानीय सरकार, प्रादेशिक सरकार, सङ्घीय सरकार अन्तर्गतका सडक, वनलगायत अन्य विषयका विषयगत निकाय बिच समन्वयसमेत नभएको समितिको अध्ययनबाट खुलेको छ ।

यस्तै भाग १ र भाग २ निर्माण सम्पन्न भए पनि भाग १ निर्माण व्यवसायीबाट हस्तान्तरण भइसकेको छैन । जसले गर्दा आयोजनाको भौतिक प्रगति ९८ प्रतिशतमा सीमित छ । साथै भाग २ निर्माण व्यवसायीबाट हस्तान्तरणको प्रक्रियामा रहे पनि ठेक्का फरफारक भइसकेको छैन । खानेपानी सेवासँग सम्बन्धित निर्माण, प्रसारण, वितरण आयोजना सञ्चालनका लागि छुट्टै छाता निकाय नहुँदा आयोजनाले योजना अनुसारको काम अघि बढाउने नसकेकाले आयोजनाको निर्माण सम्पन्न समयमै नभएको प्रतिवेदनले देखाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  २ : ३१ बजे