१२ आश्विन २०८१, शनिबार | September 28, 2024

सरकारले पशुपतिको जलहरी सुनको हो कि पित्तलको नभन्दासम्म अब संसद चल्दैन:सुवास नेम्वाङ



जेठ-१२

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले पशुपतिको जलहरी सुनको हो कि पित्तलको भनेर सरकारले जवाफ दिनुपर्ने बताएका छन्।

शुक्रबार सेतोपाटीसँग कुराकानी गर्दै नेम्वाङले प्रधानमन्त्रीकै पार्टीका सांसदले गम्भीर आरोप लगाएकाले त्यसको निष्कर्ष नआएसम्म संसद नचल्ने चेतवानी दिएका छन्।

‘यो गम्भीर कुरा हो। अझै उहाँ त प्रधानमन्त्रीको पार्टीको सांसद हो। उहाँले जे भन्नुभयो, त्यो साँचो हो भने प्रमाणित हुनुपर्छ,’ उनले भने,‘उहाँले बोलेपछि जनतामा गलत सन्देश जान्छ। पशुपतिमा सुनको भनेर पित्तलको जलारी राखिएको हो भने त्यसको छानबिन हुनुपर्छ।’

तपाईंहरूले संसद अवरोध गर्दा नीति तथा कार्यक्रम र बजेटमा असर गर्दैन भन्ने जिज्ञासामा नेम्वाङले यो विषय सरकारको रहेको बताए।

‘सरकारले चाहेमा तुरून्तै छानबिन हुन्छ। प्रधानमन्त्रीको सांसदले भनेपछि यसलाई प्रमाणित गर्देऊ भन्ने हो। तिम्रो हातमा डाडुपन्यू छ, भ्रष्टाचार देखेमा तत्काल कारबाही गर,’ उनले भने,‘देशभरि मान्छे पर्खिएर बसेका छन्- सुन हो कि पित्तल हो स्थापित गर। यदि सुन रहेछ भने सम्बन्धित व्यक्तिलाई के गर्छौं?’

सरकारले चाहेमा तत्काल छानबिन गर्न सकिने भन्दै नेम्वाङले गलत आरोप सहेर नबस्ने बताए। नीति तथा कार्यक्रम र बजेटप्रति सरकारको चासो भएमा तुरून्तै छानबिन गर्न सकिने उनले बताए।

सिन्धुली-२ बाट निर्वाचित माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन) ले बुधबारको संसद् बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पशुपतिमा पित्तलको जलहरी हालिएको बताएका थिए।

‘गएको तीन वर्ष सरकारमा जाँदा ७ खर्ब ऋण थियो, १७ खर्ब कसरी पुग्यो? सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्नुभयो, तर उहाँ सरकारमा बस्दा कति भ्रष्टाचारको काण्ड भए? यति ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्री खरिदमा भएको २ अर्बको भ्रष्टाचार, त्यतिमात्र होइन, पशुपतिनाथमा सुनको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएर गरेका भ्रष्टाचारहरूका सयौँ यस्ता काण्ड छन्,’ उनले भनेका थिए।

एमालेले दाहालको भनाइ असंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरेको छ। उसले दूधको दूध, पानीको पानी छुट्टयाउनुपर्ने भन्दै विषय नटुंगिँदासम्म सदन चल्न नदिने बताइरहँदा सांसद दाहाल भने आफ्नो भनाइप्रति अडिग छन्।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ३ : ५० बजे