१२ आश्विन २०८१, शनिबार | September 28, 2024

टीकापुर घटना पुनः छानबिन हुनुपर्छ: रेशम चौधरी



जेठ-१५

राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएर रिहा भएका रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिनको माग गरेका छन्।

टीकापुर घटनामा जन्मकैदको सजाय पाएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका चौधरी सोमबार बिहान सवा आठ बजे रिहा भएका हुन्।

‘राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर रिहा हुन पाउँदा खुसी छु। टीकापुर घटनाको पुन: छानबिन हुनुपर्छ,’ जेलबाट रिहा भएलगत्तै उनले भने, ‘यो घटनामा निर्दोष कोही पर्नु हुँदैन।’

रेशम चौधरीलाई लिन नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरी पुगेकी थिइन्। रञ्जिता उनकी पत्नी पनि हुन्।

त्यस्तै पार्टीका समर्थक, शुभेच्छुकहरू बाजा, फूलमालासहित बिहानैदेखि कारागार परिसरमा भेला भएका थिए।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहट, थारुवान संघर्ष समितिको आन्दोलनले हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एक नाबालकको ज्यान गयो। घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।

त्यही घटनामा मुख्य दोषी ठहर गर्दै रेशम चौधरीसहित ११ जनालाई २०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनाएको थियो।

उनीहरूलाई दिपायल उच्च अदालतले पनि जन्मकैदको सजाय सुनाएको थियो।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ९ : ०९ बजे