११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

नारायणगढ–बुटवल सडक विस्तारको काम ३८.५९ प्रतिशत



कावासोती, असार १२ गते

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु भएको पूर्वी खण्डमा ३८.५९ प्रतिशत काम सकिएको छ । (बर्दघाट–सुस्तापूर्व) मा पर्ने पूर्वी खण्डमा प्रतिमहिना तीन प्रतिशतभन्दा बढी प्रगति आउने गरी काम भइरहेको हो ।

गत वर्ष साउनमा आयोजनाको म्याद सकिएपछि आयोजनाको म्याद भदौ ११ गतेदेखि लागू हुने गरी थप एक वर्षका लागि थपिएको थियो । आयोजनाको थप गरिएको म्याद सकिन दुई महिना मात्रै बाँकी रहदा आयोजनाको पूर्वी खण्डमा भौतिक प्रगति मात्रै ३८.५९ प्रतिशत पुगेको हो ।

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर धिरज ढकालका अनुसार पछिल्लो समय सडकमा कालोपत्र हुनेक्रम बढेपछि समग्र प्रगति बढेको देखिएको हो ।

“अहिले यस सडकको पूर्वी खण्डमा दुवैतर्फ गरी जम्मा १४ किलोमिटर कालोपत्रेको काम सकिएको छ,” उहाँले भन्नुभयो, “हर्कपुर, अमरापुरी तथा कावासोतीमा कालोपत्रको काम भएको छ, धेरै ठाउँमा कालोपत्रको तयारी भइरहेको छ ।”

“सडक विस्तार गर्ने क्रममा छेउछाउमा माटो भर्ने, रुख काट्ने, विद्युतका खम्बा सार्नेलगायतका काम गर्दा भौतिक प्रगती खासै देखिँदैन ।,” उहाँले भन्नुभयो, “अहिले धेरै ठाउँमा कालोपत्रको काम धमाधम भइरहेका कारण भौतिक प्रगति बढ्दै गएको हो ।”

निर्माणको जिम्मा पाएको चाइना स्ट्रेट कर्पोरेसनले भने वर्षा सुरु हुनुपुर्व धेरै स्थानका पुल निर्माण सम्पन्न गरी डाइभर्सनबाट यात्रा गर्नुपर्ने अवस्था अत्य गरिने दाबी गरेको छ । आयोजनाका प्रोजेक्ट म्यानेजर राकेश झाका अनुसार केही दिन भित्रमा निर्माण सम्पन्न भएका पुलहरू सञ्चालन गर्ने गरी काम गरिएको छ । पानी पर्दा राजमार्ग बन्द नहोस् भनेर सम्भावित त्यस्ता स्थानमा कामलाई तिव्रता दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले दुई वर्ष म्याद थपका लागि नेपाल सरकारसँग आग्रह गरेका छौैं ।’’

पूर्वी खण्डका २२ वटा साना पुलमध्ये १८ वटाको काम पूर्णरुपमा सकिएको, तीन वटामा दुई लेनको काम सकिएको र एक् वटा पुलमा कामनै सुरु नभएको हो । त्यसैगरी, पूर्वी खण्डमा पर्ने १२ वटा ठूला पुलमध्य नौ वटामा सब स्टकचरको काम सकिएको तथा तीन वटामा सबस्टकचरको काम हुन बाँकी रहेको प्रोजेक्ट म्यानेजर झा बताउनुहुन्छ ।

चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले गैंडाकोटको नारायणी नदि पुलदेखि बुटवलसम्म ११५ किलो मिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटर लाई खण्ड‘ख’अन्तर्गत राखिएको सडक बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कूल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँ लागतमा राजमार्गकोे विस्तार गरिरहेको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ५ : ५१ बजे