२ आश्विन २०८१, बुधबार | September 18, 2024

नेपाली युवाद्वारा युरोपको सर्वाेच्च शिखर एलब्रसको सफल आरोहण



आसर-१५

नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल सफल आरोहण गर्नुभएको छ । यही जुन २९ तारिखका दिन बिहान ९बजे उहाँले रुसमा रहेको उक्त हिमाल आरोहण गर्नुभएको हो । पाण्डेले एलब्रसमा नेपालको राष्ट्रिय झण्डासमेत फहराउनु भएको थियो । उक्त हिमाल पाँच हजार छ सय ४२ मिटर अग्लो छ ।

उहाँले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ जुन २१ मा रुस प्रस्थान गर्नुभएको थियो । पाण्डेले आरोहण गर्नुभएको उक्त हिमाल युरोपको सबैभन्दा अग्लो चुचुरो हो । अब युरोपको सफल आरोहण सम्पन्न भएसँगै अफ्रिकाको अग्लो चुचुरो किलिमाञ्जारो हिमाल आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने उहाँले बताउनुभयो ।

पाण्डेले सन् २०१६देखि हिमाल चढ्न सुरु गर्नुभएको हो । उहाँले सगरमाथा, मनास्लु र आमादब्लम हिमाल आरोहण गरिसक्नु भएको छ । पाण्डेले अन्य सबै महादेशका अग्ला हिमाल आरोहण सकेपछि पुनः सगरमाथाको आरोहण गरी सेभेन समिट पूरा गर्ने बताउनुभयो । रामेछापको लिखु तामाकोशी निवासी उहाँले विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिनुभएको छ ।

 

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  २ : ३९ बजे