४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

हेटौंडामा यात्रुवाहक बस दुर्घटना हुँदा ४९ जना घाइते



मकवानपुर, असार-१५

हेटौंडामा यात्रुवाहक बस दुर्घटना हुँदा ४९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दिउँसो करिब २ बजे चितवनबाट जनकपुर जाँदै गरेको ना. ६ ख ९८०४ नम्बरको बस हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा ४९ जना घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला प्रहरी कार्यालय मकवानपुरले उद्धार गरी हेटौंडा अस्पातल र चुरेहिल अस्पाताल पठाइएको छ ।

घाइतेमध्ये २७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

बस अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ । उक्त स्थानमा सडक निर्माणको काम भइरहेकोले चालक झुक्किएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ भने बाँकीको सामान्य रहेको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको र चालक सम्पर्कमा नरहेको उनले बताए ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ३ : २८ बजे