२ आश्विन २०८१, बुधबार | September 18, 2024

जेठ ३२ गते देखि आइपीओ निष्कासन गर्दै घोराही सिमेन्ट



काठमाडौं, जेठ-२४

घोराही सिमेन्टले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लागेको हो । यसले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरेर आइपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीले ४३५ रुपैयाँ दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ सर्वासाधारणको लागि निष्कासन गर्न लागेको हो ।

यसअघि यस कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री गरिसकेको छ । साथै, सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि पनि सेयर बाँडफाँट गरी बाँकी भएको सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो ।

यसमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आइपीओ बिक्री नभएमा असार १४ गतेसम्म बिक्री खुला राख्ने छ । घोराहीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

लगानीकर्ताले सी आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । केयर नेपालले घोराही सिमेन्ट आइपीओलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम रहेको संकेत गर्छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ९ : ०७ बजे