१२ आश्विन २०८१, शनिबार | September 28, 2024

काठमाडौं चक्रपथ सडक विस्तार ‘द्रुत गतिमा’



काठमाडौं, जेठ-२४

काठमाडौं चक्रपथ खण्डको मंगलबार निरीक्षण गर्ने क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अन्तिम चरणमा रहेको डीपीआर तयार भएसँगै चक्रपथ विस्तारको काम तीव्र गतिमा हुने बताएका छन्। चक्रपथको निरीक्षणमा मन्त्री ज्वालासहित राज्यमन्त्री नन्दा चपाइँ र नेपालका लागि चीनका राजदूत छन् सोङ गएका थिए।

चक्रपथ सडक विस्तार गर्नुअघि पूर्वतयारी नगरिँदा सो सडकखण्डको विस्तार कार्यमा ढिलाइ हुँदै आएको छ। उक्त सडक विस्तारका लागि बिजुलीका खम्बाको स्थानान्तरण सडक क्षेत्रमा परेका संरचनाहरू हटाउने कार्य करिब अन्तिम चरणमा पुगेको छ। बाटो छेउछाउका माटोका थुप्राहरू पनि यो दुई महिना मित्रमा हट्ने परियोजना प्रमुख बाबुराम सापकोटाले बताए।

चक्रपथको सो खण्ड विस्तारका विषयमा नेपाल र चिनियाँ पक्षले गम्भीरतापूर्वक अध्ययन गरेको थियो। अध्ययनका क्रममा केही समस्या देखिएको थियो। अब समाधान निकालिसकिएको छ। केही खम्बा हटाउन बाँकी रहेको र साना मन्दिर अर्को ठाउँमा बनाउने गरी हटाउने काम भएको छ। ‘अब डीपीआर आउन ५/६ महिना लाग्छ। काम सुरु हुँदा एक वर्ष कम्तीमा लाग्छ।’ सापकोटाले भने।

मन्त्री प्रकाश ज्वालाले भने, ‘चिनियाँ सरकारले अनुदानको रूपमा अगाडि बढाएको पहिलो चरणमा कलंकीदेखि कोटेश्वरसम्मको क्षेत्र हामीले सम्पन्न गरेका छौं। त्यहाँ आएका समस्या हामीले समाधान गरिसकेका छौं। दोस्रो फेजमा कलंकीदेखि बसुन्धरासम्मको हो।’ उनले दोस्रो फेजको विषयमा स्पष्ट पार्दै भने, ‘दोस्रो फेजमा कलंकीदेखि बसुन्धरासम्मको ८.२ किलोमिटर हामीले अगाडि बढाएका छौं। यो बीचमा खास समाधान नै नहुने समस्या देखिएको छैन।

छिट्टै यो प्रक्रिया अगाडि बढाउन सकिन्छ।’ डीपीआर तयार भएलगत्तै यही वर्षभित्रमा काम अगाडि बढाउन चिनियाँ राजदूतमार्फत चीन सरकारलाई अनुरोध गरेको उनले बताए। ‘चीनले अहिले डीपीआर बनाउने काम अगाडि बढेको छ। डकुमेन्ट तयार हुनेबित्तिकै यो टेन्डरमा जान्छ। यो दोस्रो चरणको काम अघि बढ्छ। यदि समस्या देखिए पनि फिल्डमै आएर समस्या बुझेर समाधानमा लाग्नका लागि अनुगमन गरिएको हो।’ मन्त्री ज्वालाले साइड क्लियरेन्सबाहेक अरू खास काममा खास समस्या नभएको पनि बताए। चिनियाँ सरकारसँग दोस्रो चरणको निर्माणका लागि गरेका केही विषयमा मन्त्रीले भने, ‘ढुंगेधारा, गोंगबु र बसुन्धरामा अन्डर पासका लागि सवारीसाधन र मान्छे हिँड्न मिल्ने थपौं भनेर हामीले अनुरोध गरेका छौं। कमसेकम ८ लेनको चक्रपथ सुविधाजनकको रूपमा अगाडि बढाउँछौं।’

चीनका राजदूत छनले चक्रपथ विस्तारका लागि चीनले नेपालको तयारी कुरेर बसेको बताउँदै नेपाल सरकारले चक्रपथ रेखांकनभित्रका संरचनाहरू हटाउनेलगायतको काममा तदारुकता दिएकाले छिट्टै नै विस्तार कार्य सुरु हुने विश्वास व्यक्त गरे। राजदूत छनले भने, ‘हामीले एकदमै स्मुथली काम गरेका छौं। काठमाडौं सहरलाई सुन्दर बनाउने एउटा अंश बन्न पाउँदा खुसी लागेको छ। डीपीआर सकिएलगत्तै काम तीव्र रूपमा हुन्छ।’

प्रस्तावित रेखांकनभित्रका अधिकांश संरचना हटाइसकिएकाले अब चक्रपथको विस्तार कार्य सुरु गर्न कुनै समस्या नरहेको परियोजना प्रमुखले थप प्रष्ट्याए। अन्नपूर्ण

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ९ : ५८ बजे