१२ आश्विन २०८१, शनिबार | September 28, 2024

गगन भन्छन्- सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्छ, प्रधानमन्त्रीमा पनि लोभ गर्नुहुन्न



जेठ-३०

अहिलेकै पार्टी नेतृत्वबाट नेपाली कांग्रेस अघि बढ्न नसक्ने भन्दै निरन्तर दबाब दिँदै आएका महामन्त्री गगन थापा सभापति शेरबहादुर देउवाप्रति झनै आक्रामक बन्दै गएका छन्।

सभापति देउवाले तत्कालै पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउँदै महामन्त्री थापाले अब भविष्यमा प्रधानमन्त्री बन्ने लोभ नगर्न पनि सुझाएका छन्।

मंगलवार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले पुस्तान्तरणका लागि सभापतिले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका हुन्।

‘अब सभापतिले नेतृत्व हस्तान्तरण गरेर पार्टीमा पुस्तान्तरण गर्नुपर्छ,’ थापाले भने ‘यही गठबन्धनमा कांग्रेस नेतृत्वमा सरकारसमेत बन्ने पक्का भएकाले सभापतिले अब प्रधानमन्त्रीमा समेत दाबी गर्नु हुँदैन।’

महामन्त्री थापाले प्रधानमन्त्रीमा सभापतिवाहेक अन्य जो सुकै भए पनि हुने बताएका छन। ‘उहाँ पाँच–पाँच पटक प्रधानमन्त्री भइसक्नु भएको छ,’ थापाले भने  ‘अब प्रधानमन्त्रीमा फेरि आश गर्नुहुँदैन। अरू जो सुकै बने पनि हुन्छ।’

नेपाली जनताले कांग्रेसबाट नयाँ प्रधानमन्त्रीको खोजी गरेको समेत उनले बताए।

सभापतिले नयाँ व्यक्तिलाई प्रधानमन्त्री र सभापति दुवै पद छोड्न मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ थियो।

‘मैले कुनै रिसइबी लिएर भनिरहेको छैन। पार्टी हितका लागि हो। नेपाली कांग्रेसले नयाँ नेतृत्व खोजी रहेको छ। यी कुरा लागु गर्न म लागिरहेको छु । अझै लाग्छु। परिवर्तन गर्न लागि रहेको छु, जोखिम उठाउने हो । फलका विषयमा चिन्ता गर्ने होइन । आज मेरो काम भनेको नेतृत्व र सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने हो,’ उनले भने।

नेता शेखर कोइरालासँगको सम्बन्धबारे कुनै शंका नगर्न पनि उनले आश्वस्त पारे। कोइराला त  देउवा खेवामा जानु भयो भन्ने हल्ला छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा महामन्त्री थापाले भने ‘१४ औ महाधिवेशनदेखिको सम्बन्ध अहिलेसम्म पनि प्रगाढ छ १५ औं महाधिवेशनसम्म पनि रहिरहनेछ ।’

महामन्त्री थापा मोरङको विराटचोकमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका हुन्।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १ : ५३ बजे