११ आश्विन २०८१, शुक्रबार | September 28, 2024

पानीको अभाव झेल्दै तीन सय घरधुरी



जेठ-३१

तनहुँको भानु नगरपालिकाको करिब एक वडामा नै पानीको अभावमा रहेको छ । पानीको मुहान सुकेपछि यस क्षेत्रमा खानेपानीको अभाव भएको हो ।

भानु नगरपालिका–२ फुस्रेटारका तीन सय घरधुरी पानीको अभावमा रहेका छन् । पानीको मुहान पत्ता लागे पनि उपभोक्ताका लागि वितरण गर्न नसक्दा उनीहरुले पानीको अभाव भोग्नुपरेको छ । उक्त क्षेत्रमा तीन सय घरधुरीका करिब एक हजार तीन बढी व्यक्ति प्रभावित भएका छन् ।

पानीको मुहानबाट आएको पानी सञ्चितिका लागि रिजर्भ ट्याङ्की नहुँदा यहाँका उपभोक्तालाई समस्या भएको अम्बोटे कालीमाटी बोरिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवराज त्रिपाठीले जानकारी दिनुभयो । रिजर्भ ट्याङ्कीको अभावले आवश्यक पानी सङ्कलन गरी वितरण गर्न नसक्दा यहाँ पानीको हाहाकार भएको उहाँले बताउनुभयो ।

“बोरिङ गरिएको पानी फ्लो भइसकेको छ, रिजर्भ ट्याङ्की नहुँदा समस्या भएको छ, एउटा ३० लिटर खपत हुने ट्याङ्कीमा जम्मा गरिएको पानीले उपभोक्तालाई वितरण गरे पनि पुग्दैन”, उहाँले भन्नुभयो, “अहिले एक घण्टामा ३० हजार लिटर पानी सङ्कलन हुन्छ, सङ्कलन गरिने ट्याङ्की चुहिने हुँदा चुहिएर बाँकी रहेको पाँच हजार लिटर पानी उपभोक्तालाई वितरण गरिन्छ ।” उक्त बोरिङ गरिएको पानी सञ्चित गर्न नसक्दा यहाँका बासिन्दाले पानी उपभोग गर्न पाएका छैनन् ।

सानो तथा चुहिने ट्याङ्कीसम्म बोरिङ पानी पु¥याउन नगरपालिकाले दुई मिटर पाइप दिएको उहाँले बताउनुभयो । सोही पाइपको माध्यमबाट सञ्चित पानी अहिले आधा घण्टासम्म वितरण गरिँदै आएकामा उपभोक्ताले पर्याप्त पानी उपभोग गर्न नपाएको उहाँको गुनासो छ । “हामीलाई ९० हजार लिटर पानी अट्ने रिजर्भ ट्याङ्की र खानेपानी वितरणका लागि एक हजार मिटर पाइप आवश्यक परेको छ, सङ्घ सरकारसमक्ष माग गरेकामा परेन, प्रदेश सरकारसमक्ष पनि माग राखेका छौँ र आशामा बसेका छौँ, यी सामग्री पाएमा पानी वितरण गरेर खानेपानी समस्या हटाउने प्रयत्नमा रहेका छौँ”, अध्यक्ष त्रिपाठीले भन्नुभयो ।

अनुगमन समिति संयोजक भक्तबहादुर कुँवरले पानी निस्किएको र खानेपानी घर–घरमा पु¥याउने लक्ष्य लिइएको बताउनुभयो । “एक घर, एक धारा अभियान जारी रहेको छ, सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौँ, यहाँको खानेपानी समस्या समाधान गर्ने पक्षमा रहेका छौँ”, उहाँले भन्नुभयो ।

प्रदेशकै दोस्रो उत्कृष्ट पानी यहाँ निस्किएको प्राविधिकले जनाएका छन् । एक सय ६० मिटर गहिराइबाट एक सय २० मिटर गहिराइमा मोटर राखेर पानी तानिएको छ । उक्त पानी वितरणका लागि रिजर्भ ट्याङ्की राख्न सकिएमा अन्य बस्तीमा समेत पानी पु¥याउन सकिने र यहाँ पानीको अभाव भएको खण्डमा बोरिङको पानीले खेतीपाती गर्न सकिनेछ । यस क्षेत्रका एक हजार तीन सय व्यक्ति लाभान्वित हुनेछन् ।

जनश्रमदानसहित नगरपालिकाको रु २३ लाख ३४ हजार सात सय २४ लागतमा उक्त आयोजना निर्माण सम्पन्न भएको छ । विसं २०७९ फागुन २५ गतेदेखि बोरिङ खानेपानी आयोजना सुरु भएको र विसं २०८० वैशाख ३० मा सम्पन्न गर्ने सम्झौता भएको थियो । उक्त आयोजना एक महिना अगावै सम्पन्न गरी पानी वितरणका लागि अन्य स्रोतसाधन जुटाउन लागिपरेको छ ।

स्थानीय लक्ष्मी त्रिपाठीले खानेपानीको समस्याले समयमा काम पूरा गर्नै सकस भएको बताउनुभयो । “खानेपानी नहुँदा मुलको पानी खोज्न जानुपर्ने हुन्छ, पानीको जोहोमै समय बित्छ, खाना बनाउने, यसले गर्दा यहाँका स्थानीय महिलालाई छोराछोरीलाई विद्यालय समयमा पु¥याउनै ढिला हुने गरेको छ”, उहाँले भन्नुभयो ।

खानेपानीको समस्याले गृहिणीलाई अझ समस्या थपिदिएको छ । पानीको जोहोसँगै अहिले यहाँका महिलालाई घरको सरसफाइ, बालबालिकालाई विद्यालय पु¥याउनमा सास्ती भोग्नुपरेको छ । अम्बोटे कालीमाटी बोरिङ खानेपानी उपभोक्ता समितिलाई वितरण भएमा यहाँका महिलालाई सहज हुनेछ । महिलाले पानीको जोहो गर्ने समय अन्य कार्यमा उपयोग गर्न पाउनेछन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  १ : ५९ बजे