२३ मंसिर २०८२, सोमबार | December 8, 2025

“प्रधानमन्त्रीले स्पष्ट नपारे थप पाइला चाल्नुपर्ने हुन्छ” : सांसद रघुजी पन्त



जेठ-३२

नेकपा एमालेका सांसद रघुजी पन्तले भारतले नयाँ संसद भवनमा राखेको नक्साबारे कुटनीतिक नोट पठाउन माग गरेका छन्।विहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पन्तले भारतले सांस्कृतिक र ऐतिहासिक नक्सा भनेपनि पहिलेको र अहिलेको भनि नछुट्याएको भन्दै त्यसबारेमा तत्काल कुटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन माग गरे।

नक्साबारे भारतीय विदेशमन्त्री एस जयशंकरले छिमेकी मुलुक नेपालले बुझेको भन्ने अभिव्यक्ति दिएको र अर्को मन्त्रीले सामाजिक सञ्जालमा नक्सा राखेर ‘संकल्प अखण्ड भारत’ लेखेको बताउँदै सरकारले यसबारेमा स्पष्ट पार्नुपर्ने बताए।

‘के सरकारले चित्त बुझाएको हो?’ उनले सोधे।

पन्तले सीमा समाधानबारे भारतीय प्रधानमन्त्रीसँग भएको कुराकानीको विषय प्रधानमन्त्री पुष्पकमल दाहालले सदनलाई ढाँटेको बताए।

उनले संसदमा एउटा भनेको तर पत्रकारहरूसँग अर्कै कुरा भनेकोले सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए।

कान्तिपुरमा भारतस्थित नेपाली राजदूत शंकर शर्माले नेपाललाई हिन्दु राष्ट्रको रूपमा वकालत गर्न खोजेको, बीआरआइ र इपिजीका बारेमा विवादास्पद अभिव्यक्ति दिएको बताए।

‘इपिजी प्रतिवेदनबारे राजदूतले बोकेको बिचारले नेपालको प्रतिनिधिनत्व गर्छ? सरकारको दृष्टिकोण हिन्दु राष्ट्रको नारालाई प्रोत्साहन दिने हो? धर्मनिरपेक्षताबारे नेपाल सरकारको दृष्टिकोण के हो? बिआरआईबारे राजदूतले भनेकै कुरा हो सरकारको धारणा?’ उनले सोधे।

 

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १२ : ४९ बजे