११ आश्विन २०८१, शुक्रबार | September 28, 2024

नेपाली सीमामा आएका भारतीय टोली नेपाल प्रहरीको नियन्त्रणमा



असार-०१

हाइवेको सर्भे गर्न नेपाली सीमामा आएको भारतीय टोलीलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली सीमा नाका गड्डाचौकीमा सर्भेको सामानसहित आएको देहरादुनको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सर्वेक्षण विभाग देहरादुनमार्फत आएको निजी कम्पनीको टोलीले गड्डाचौकीको भुजेल पुलदेखि सुकासालसम्मको भूभागमा सर्भे गर्दै गर्दा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले बताए ।

सर्भेका विभिन्न सामाग्रीसहित यूपी ८०जीजे३९४५ नम्बरको भारतीय गाडीमा आएका थिए । उनीहरूले नेपाललाई कुनै जानकारी नदिई हाइवेको सर्भे गरिरहेको पाएपछि नियन्त्रणमा लिइएको उनको भनाई छ ।

नियन्त्रणमा लिएकाहरूलाई जिल्ला प्रशासन कार्यालयमा राखेर सोधपुछ गर्ने काम भइरहेको एसपी थापाले बताए ।

‘उहाँहरू किन आउनुभयो भन्ने विषयमा छलफल गरिरहेका छौँ । नापजाँच गर्ने उपकरणसहित देखिएकाले के हो भन्ने विषयमा सोधपुछ भइरहेको छ । उहाँहरूको आफ्नै खालको रहेछ’ एसपी थापाले भने ।

सोधपुछको क्रममा उनीहरूले इण्डियन हाईवे सर्भेका क्रममा एउटा प्वइन्ट गड्डाचौकीमा देखिएपछि सर्भेका लागि आएको प्रतिक्रिया दिएको एसपी थापाले बताए ।

‘भारतीय सर्भे विभागबाट इण्डिन नेशनल हाईवेका लागि कुनै प्राइभेट कम्पनीले ठेक्का पाएको रहेछ । त्यो कम्पनीले सर्भेका क्रममा १४ वटा प्वइन्टहरू पत्ता लगाएको छ । त्यो कम्पनीले सर्भेका क्रममा १४ वटा प्वइन्ट रहेछ । ती मध्ये एउटा गड्डाचौकीमा परेको रहेछ,’ उनीहरूको भनाई उद्धृत गर्दै एसपी थापाले भने, ‘हाइट मेन्टन गर्नका लागि उनीहरूल सर्भे गर्दै आएका रहेछ । त्यही क्रममा नेपालमा आएको बताएका छन् । त्यसका लागि नेपालसँग कुनै अनुमति लिएको देखिएन ।’

नेपालसँग समन्वय नगरी आएकाले के कस्तो हो ? भनेर सोधपुछका लागि बोलाइएको उनको भनाई छ । नियन्त्रणमा रहेकाहरूले सीमा सम्बन्धी कुनै पनि काम नगरेको प्रतिक्रिया दिएका छन् ।

‘सीमासँग सम्बन्धित विषयमा काम गरेको देखिएन । त्यो देखिएको प्वइन्ट भेरिफाई गर्नको लागि आएका रहेछन् । आउँदा कुनै समन्वय नगरेको विषयमा हाम्रो आपत्ति हो । अहिले भारतीय अधिकारीहरूसँग समेत छलफल भइरहेको छ । समन्वय गरेर अगाडि बढ्छौं’ एसपी थापाले भने ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ३ : ५४ बजे