५ आश्विन २०८१, शनिबार | September 21, 2024

बलात्कार पीडित किशोरीलाई कैद सजाय सुनाएको फैसला उच्च अदालतले उल्ट्यायो



असार-०४

बलात्कारसँग सम्बन्धी मुद्दामा बयान फेरेको भन्दै एक किशोरीलाई साढे ३ बर्ष कैद सुनाउने जिल्ला अदालत अछामको फैसलालाई उच्च अदालत दिपायलले उल्ट्याएको छ ।

उच्च अदालतले आरोपितले सफाइ पाउने जिल्ला अदालतको फैसलालाई सदर गरेपछि पीडित किशोरीलाई सजाय गर्ने जिल्ला अदालतको राय उल्ट्याएको हो ।

१० फागुन २०७८ मा आफूमाथि बलात्कार भएको भन्दै अछाम कमलबजारकी १९ वर्षीया एक किशोरीले प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसका आधारमा जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

अदालतमा भने ती किशोरीले आफूमाथि बलात्कार नभएको भन्दै बयान गरेकी थिइन् । बयान फेरेको भन्दै जिल्ला न्यायाधीश नवीनकुमार जोशीले किशोरीलाई साढे ३ वर्ष कैद सजाय सुनाएका थिए । विवादास्पद फैसलापछि उनी तानिएकी थिइन् ।

त्यही फैसला विरुद्ध परेको पुनरावेदनमा उच्च अदालतका न्यायाधीशहरु देशबहादुर सार्की र गणेश ठाकुरको इजलासले पीडितमाथिको सजाय उल्ट्याएको हो ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ९ : १६ बजे