११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

हवाई इन्धनको मूल्य घट्यो, भाडा घटाउने तयारीमा प्राधिकरण



नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । निगमले हिजो मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्तिरिक र बाह्य हवाई इन्धनको मूल्य घटेको जनाएको हो ।

निगमले आन्तरिकतर्फ हवाई इन्धनको मूल्य १० रुपैयाँ घटाएको छ। यससँगै आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १५० कायम भएको निगमले जनाएको छ।

त्यस्तै, बाह्यतर्फको हवाई इन्धनमा प्रतिलिटर २६ रुपैयाँ मूल्य घटाएको छ । यससँगै नयाँ बिक्री मूल्य प्रति किलो लिटर अमेरिकी डलर अमेरिकी डलर १.१५० (प्रति लिटर करिब १५१ रुपैयाँ) कायम गरिएको जनाएको छ ।

मूल्य समायोजन गर्दा पनि भारतको कलकत्ताको हवाइ इन्धन आन्तरिकतर्फको विक्री मूल्यको तुलनामा काठमाडौंमा विक्री गरिने हवाइ इन्धनको बिक्री मूल्य अझै प्रति लिटर ३ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ ।

नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू भएको हो । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आज बुधबारदेखि नै लागू हुने गरी आन्तरिक उडानतर्फको भाडादर घटाउने बताएको छ।

मंगलबार आफ्नो ट्विटर ह्यान्डल मार्फत प्राधिकरणले भनेको छ, ‘नेपाल आयल निगमले हवाई इन्धनको भाउ कम गरेसँगै बुधबारदेखि सबै आन्तरिक हवाई उडानको भाडादर कम गर्ने निर्णय भएको छ।’

कुन गन्तव्यको भाडादर कति कम हुने भन्नेबारे प्राधिकरणले सार्वजनिक गरिसकेको छैन।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १ : ५२ बजे