३० कार्तिक २०८१, शुक्रबार | November 16, 2024

प्रचण्ड र विप्लवबीच समाजवादी मोर्चा बलियो बनाउनेबारे छलफल



असार-०७

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच समाजवादी मोर्चा बलियो बनाउनेबारेमा गम्भीर छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्ड र विप्लवबीच समाजवादी मोर्चालाई सुदृढ बनाउने बारेमा छलफल भएको हो ।

‘प्रधानमन्त्री प्रचण्ड र विप्लव कमरेडबीच बिहान भेट भयो । समाजवादी मोर्चालाई कसरी बलियो र प्रभावकारी बनाउने विषयमा छलफल भयो’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘माओवादी आन्दोलनका विरुद्ध एकपछि अर्को गर्दै प्रहार भएका बारेमा छलफल भयो । माओवादी आन्दोलनले ल्याएका उपलब्धि रक्षा गर्न सबै एक जुट हुनुपर्ने विषयमा कुराकानी भए ।’

समाजवादी मोर्चाको बैठक बसेर कार्यक्रम बनाएर जाने विषयमा कुराकानी भएको ति सचिवालय सदस्यले बताए । पछिल्लो समय राजावादी शक्तिहरू आक्रामक भएको विषयमा समेत प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच छलफल भएको बताइएको छ ।

गत असार ४ गते समाजवादी मोर्चा घोषणा भएको हो । जसमा माओवादी केन्द्रसहित एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेकपा विप्लव समूह सहभागी छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई समेट्ने भनिए पनि अन्तिममा उनलाई छुटाएको थियो ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  १२ : ४९ बजे