२ आश्विन २०८१, बुधबार | September 18, 2024

दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग नेपालको पराजय



असार-०७

जिम्बाव्वेको हरारेमा जितका लागि ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २३८ रनमा अल आउट भयो ।

२८.१ ओभरमा १२९ रन बनाउँदा ६ विकेट गुमाएको नेपालको स्कोर आरिफ शेख र गुल्सन झाले केही उकासेका थिए । उनीहरुले सातौं विकेटका लागि ६८ रनको साझेदारी गरे । गुल्सन ४२ रन बनाएर आउट भए । आरिफ ६३ रन बनाउँदै आउट भए ।

ओपनर कुशल भुर्तेल ५ रनमा  र तेस्रो क्रममा आएका भीम सार्की २ रनमा आउट भएपछि अर्का ओपनर ब्याटर आसिफ शेख र कप्तान रोहित पौडेलले नेपाली इनिङस केही सम्हालिन खोजेका थिए । तर कुशल ३६ बल खेल्दै ३ चौका सहित २८ रनमा आउट भए  । कप्तान रोहित पौडेलले ४३ बलमा ३ चौका सहित ३० रन जोडे ।

सातौं ब्याटर दिपेन्द्र सिंह ऐरी क्रिजमा आक्रमक देखिए । उनले २४.६ ओभरमा एकेल होसिनको बलमा लामो छक्का प्रहार गर्दै मिडिया बक्सको सिसा फुटाएका थिए । तर उनी पनि २३ रनमा आउट भए ।नेपालको ८ विकेट गुमेपछि ब्याटिङमा आएका करण केसीले १ छक्का र ४ चौकासहित नट आउट २८ रन बनाए पनि हारको अन्तर १०० भन्दा कम बनाउन सकेनन् । अन्तिम नम्बरमा ब्याटिङमा आएका ललित पहिलो बलमै डक आउट भए ।सन्दीप लामिछानेले १ तथा कुशल मल्लले २ रन बनाए ।

त्यसअघि, वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल बनाउँदा दुई ब्याटरले शतकीय पारी खेले । बिहानी विकेट कन्डिसनमा ब्याटिङका लागि संघर्षरत वेष्ट इण्डियन ब्याटरहरुले मध्य ओभरमा शानदार प्रदर्शन गरेका थिए ।

सुरुवातमै शीर्षक्रमका तीन ब्याटरलाई सस्तैमा आउट गर्न सफल रहे पनि त्यसपछि नेपाली बलरहरु विकेटका लागि संघर्ष गरिरहे ।

करण केसीको बलमा नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई १ रन मानै आउट गरेको थियो ।

दुईपल्ट जीवनदान पाएका पुरनले  ११५ रन बनाए । उनले ९४ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।

वेष्ट इण्डिजका कप्तान होप भने  १३२ रनमा क्याचआउट भएका थिए । होपले १२९ बलमा १० चौका र ३ छक्का प्रहार गरे ।

बलिङमा ललितले ३ तथा करण, गुल्सन, सन्दीप र दीपेन्द्रले एक–एक विकेट लिए । ललितले १० ओभरमा ५२ रन खर्चिए । सन्दीपले १० ओभरमा १ मेडन राख्दै ५० रन खर्चिए ।

अघिल्लो खेलमा अमेरिकाविरुद्ध प्लेयर अफ द म्याच बनेका करण यसपल्ट महंगो सावित भए । उनले १० ओभरमा १ मेडन राख्दै ८१ रन खर्चिए ।

अक्टोबर/नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने आशा जीवित राख्न नेपालले यो समूहमा शीर्ष तीनभित्र रहेर सुपर सिक्समा पुग्नुपर्छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ९ : ०२ बजे