५ आश्विन २०८१, शनिबार | September 21, 2024

पत्रकारमाथि आक्रमण प्रयास गरेको घटनाप्रति महासङ्घको आपत्ति



असार-०७

नेपाल पत्रकार महासङ्घले स्वास्थ्य लाइभ अनलाइनका सम्पादक सुनिल सापकोटालाई समाचारको विषयलाई लिएर हरि गिरीसहितको समूहले दुर्व्यवहार गर्नाका साथै आक्रमण प्रयास गरेको घटनाप्रति आपत्ति जनाएको छ ।

महासङ्घका सचिव गोविन्दप्रसाद चौलागाईंले आज प्रेस विज्ञप्ति जारी गरी प्रकाशित तथा प्रसारित समाचारप्रति चित्त नबुझे प्रचलित कानूनी बाटो अवलम्बन गर्नुको साटो दुर्व्यवहार र आक्रमणमा उत्रिनु निन्दनीय भएको जनाउनुभएको छ ।

महासङ्घले घटनाको निष्पक्ष छानबिन गरी कानूनी कारबाही गर्न सम्बन्धित निकायसँग मागसमेत गरेको छ । सरकारी जग्गा व्यक्तिले कब्जा गरेको विषयमा समाचार लेखेको भन्दै गिरीसहितको एक समूहले बुधबार अनामनगरमा दुर्व्यवहार गर्दै आक्रमणको प्रयास गरेको जानकारी सम्पादक सापकोटाले महासङ्घलाई गराउनुभएको थियो । गिरीलाई सिंहदरबार प्रहरी वृत्तले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ९ : १७ बजे