११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

कृषकले तरकारी बाटोमा फाल्नु पर्दैन: प्रधानमन्त्री पुष्पकमल दाहाल



असार-०८

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानले उत्पादन गरेको तरकारी बाटोमा फाल्न नपरोस् भनेर बजारिकरणका लागि सरकारले काम गरिरहेको बताएका छन् । उनले कृषि उपजको कृषकले न्यून मूल्य पाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रमुख खाद्यान्न बालीको सिजन पूर्वसमर्थन मूल्य तोक्ने व्यवस्था गरिएको जानकारी दिए ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद अर्जुननरसिंह केसीले खेतीको समयमा मल नपाउने अवस्था रहेको बताए । त्यही समयमा कालो बजारीमा पनि फस्टाएको उनको भनाइ छ । यसलाई चिरेर उत्पादन गरेका कृषि उपजको न्यूनतम मूल्य नपाएर सडकमा फाल्नु परेको छ । यसको अन्त्य यो वर्ष हुन्छ भन्दै प्रश्न गरेका थिए ।

उक्त प्रश्नको जवाफ दिँदै उनले दूधको समर्थन मूल्य तोकिएको, उखु किसानलाई अनुदान दिइएको तथा तरकारीको बजारीकरणमा देखिएको समस्या अन्त्य गर्न विकेन्द्रीकरणको माध्यमबाट कार्य अघि बढाइएको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले बढी उत्पादन भएको खाद्य सामानको कोल्डस्टोरमा राख्न सक्ने पूर्वाधार बनाउने र केहीको न्यूनतम मूल्य तोक्ने काम भइरहेको जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरेका छन् । साथै यो वर्ष धान बालीका लागि मल अभाव नहुने उनको दाबी छ ।

संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरे । ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको उनले दाबी गरे ।

साथै यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन भित्रिने भन्दै उनले भने, ‘विगतको जस्तो मल अभाव हुने अवस्था छैन ।’

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १२ : ५९ बजे