११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

२० अर्बले घट्यो खनिज इन्धनको आयात



असार-१०

चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशबाट आयात हुने सम्पूर्ण खनिज इन्धनको आयात २० अर्बले खुम्चिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्मको अवधिमा २० अर्बले सम्पूर्ण प्रकारको खनिज इन्धनको आयात घटेको हो ।

गत आर्थिक वर्ष २०७८-७९ को ११ महिनामा विदेशबाट ३ खर्ब ४० अर्ब १९ करोड रुपैयाँको खनिज इन्धन आयात भएको थियो । जबकि, चालू वर्षको ११ महिनाको अवधिमा ३ खर्ब २० अर्ब ९९ करोड रुपैयाँको मात्रै खनिज इन्धन आयात भएको हो ।

गत वर्षको तुलनामा चालू वर्षमा विश्वभर खनिज इन्धनको मूल्य बढेको छ । यसकारण पनि बढेको मूल्यमा आयात हुँदा समेत खनिज इन्धनको आयात घटेको देखिन्छ । नेपालले विदेशबाट ठुलो मात्रामा पेट्रोल, डिजेल, हवाई इन्धन, एलपी ग्याँस र कोइला लगायतका वस्तुको आयात गर्दै आइरहेको छ ।

तथ्यांकअनुसार चालू वर्षमा डिजेल, पेट्रोल, एलपीजी लगायतका वस्तुको आयात घटेको छ । उता हवाई इन्धनको आयात भने बढेको छ । गत आर्थिक वर्षको ११ महिनामा १ खर्ब ४५ अर्ब रुपैयाँको डिजेल आयात भएकोमा चालू वर्षको सोही अवधिमा १ खर्ब ३७ अर्बको डिजेल आयात भएको छ । यो ८ अर्बले कम हो ।

यस्तै, गत आर्थिक वर्षमा ६२ अर्ब ९१ करोड रुपैयाँको पेट्रोल भित्रिएको थियो । जबकि, चालू वर्षमा ६१ अर्ब ३८ करोडको पेट्रोल भित्रिएको छ । यो १ अर्ब ५३ करोड कम हो । यसैगरी, गत वर्ष ५९ अर्ब १६ करोडको एलपीजी भित्रिएकोमा यो वर्ष ५४ अर्ब ३२ करोडको एलपीजी भित्रिएको छ । यो ४ अर्ब ८४ करोडले कम हो ।

यस अवधिमा विदेशबाट हवाई इन्धनको आयात भने बढेको छ । गत वर्ष ११ अर्ब ८८ करोडको हवाई इन्धन भित्रिएकोमा यो वर्ष १८ अर्बको हवाई इन्धन भित्रिएको छ । यो ६ अर्बभन्दा धेरैले बढी हो । यसबाहेक, गत वर्षको तुलनामा यो वर्ष मट्टितेलको आयात समेत ११ करोडले घटेको छ । गत वर्ष १ अर्ब ४३ करोडको आयात भएकोमा यो वर्ष जम्मा १ अर्ब ३२ करोडको मट्टितेल भित्रिएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ९ : ११ बजे