५ आश्विन २०८१, शनिबार | September 21, 2024

सामुदायिक विद्यालय हाँक्ने महिला प्रधानाध्यापक



 असार -१८

कञ्चनपुर लालझाडी गाउँपालिका-२ मा रहेको सिद्धबैजनाथ आधारभूत सामुदायिक विद्यालयमा आठ वर्षयता प्रधानाध्यापकका रुपमा रामवती राना थारुले जिम्मारी सम्हाल्नुभएको छ । विगत आठ वर्षदेखि उक्त पदमा रहनुभएका उहाँ थारु समुदायबाट विद्यालयको जिम्मेवारी सम्हाल्ने पहिलो महिला हुनुहुन्छ ।

“बाल विकास शिक्षकमा नियुक्त भइ २०७२ सालदेखि प्रधानाध्यापकका रुपमा काम गरिरहेको छु”, रानाले रासससँग भन्नुभयो, “विद्यार्थी, प्रशासन र अभिभावकबीचको सहकार्य गर्न सहज र चुनौतीपूर्ण दुवै छ ।” उहाँले नेतृत्व गरिरहेको विद्यालयमा हाल एक सय ८८ विद्यार्थी र १२ शिक्षक तथा कर्मचारी हुनुहुन्छ ।

“विद्यालयको आयस्रोत कम हुँदा जेनतेन निजी स्रोतका शिक्षकलाई तलब सुविधा पु¥याउन सकिएको छ”, उहाँले भन्नुभयो, “तीन शिक्षकका लागि स्थायी दरबन्दी भए पनि बाँकीलाई निजी स्रोतबाट टिकाउन गाह्रो अवस्था छ ।”

भौगोलिक रुपमा जिल्लाकै विकट क्षेत्रमा पर्ने लालझाडीमा राना थारु समुदायको बाहुल्यता छ । त्यसैले विद्यालयमा पनि राना थारु समुदायकै बालबालिकाको सङ्ख्या बढी छ । रानाले भन्नुभयो, “महिलाले अधिकार मागेर होइन, मेहनतले उच्च तहमा पुग्ने वातावरण हरेक कोणबाट बन्दै गएको छ ।”

थारु जस्तै जिम्मेवारीमा हुनुहुन्छ, सुरिता चौधरी । शुक्लाफाँटा नगरपालिका–३ जोनपुरमा रहेको जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक चौधरीले दश वर्षदेखि उक्त जिम्मेवारी सम्हाल्नुभएको छ । चौधरीका श्रीमान् विक्रम चौधरी पनि सोही विद्यालयमा शिक्षक हुनुहुन्छ ।

“शिक्षक हुँदा सम्बन्धित विषय पढाउने र विद्यार्थीको भविष्यप्रति बढी केन्द्रित भइन्थ्यो भने प्रधानाध्यापकका रुपमा विद्यालयको सबै जिम्मेवारी लिएकी छु ।” विगत २२ वर्षदेखि शिक्षण पेसामा रहनुभएकी चौधरी सुरुमा निजी शिक्षक, अस्थायी हुँदै २०७५ सालमा स्थायी हुनुभएको थियो ।

“हामी दुवै जना शिक्षण पेसामा दुई दशकभन्दा बढी समय संलग्न भएकाले समाजमा पनि राम्रो प्रतिष्ठा कमाएका छौँ”, उहाँले भन्नुभयो, “बढ्दो आधुनिकीकरण र प्रविधिको उच्च विकास भइरहेको समयमा ग्रामीण क्षेत्रमा विद्यालय सम्हाल्नु चुनौतीपूर्ण छ ।” ग्रामीणस्तरमा प्राथमिक तहदेखि नै समयसापेक्ष शिक्षा दिने विषयमा स्थानीय तहदेखि केन्द्र सरकार जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।

दुई सय ५९ वटा सामुदायिक विद्यालय रहेको कञ्चनपुरमा हाल २० विद्यालयमा महिला प्रधानाध्यापक रहनुभएको शिक्षा तथा समन्वय इकाइ, विद्यालय प्रशासनका शाखा अधिकृत रुपराम तिरुवाले जानकारी दिनुभयो ।

यहाँको शुक्लाफाँटा नगरपालिकाको झलारीमा २०२२ सालमा स्थापना भएको श्रीकृष्ण माविको नेतृत्व पनि महिला प्रधानाध्यापकको काँधमा छ । विद्यालयमा चार वर्षयता लक्ष्मी थापा ऐर प्रधानाध्यापक हुनुहुन्छ ।

“शिक्षकका रुपमा एक प्रकारको सन्तुष्टि थियो भने अहिले प्रधानाध्यापकका रुपमा विद्यालयको नीति निर्माणदेखिका सबै काम गर्दा थप जिम्मेवारी महसुस भएको छ”, उहाँले भन्नुभयो । निजी र सामुदायिक विद्यालयमा गरी १७ वर्ष अध्यापन गराउनुभएकी उहाँ १२ वर्षदेखि सामुदायिक विद्यालयमा पढाइरहनुभएको छ ।

“करिब दुई दशकको अनुभवले प्रधानाध्यापकका रुपमा काम गर्न सहज भएको छ”, उहाँले भन्नुभयो, “अहिले विद्यालयको भौतिक संरचना निर्माण, अभिभावकसँग समन्वय, अतिरिक्त क्रियाकलाप, अध्यापन र विद्यालयको विकासमा सक्रिय हुन पनि सजिलो भएको छ ।”

महेन्द्रनगरमा सञ्चालित जानकी कन्या माविमा पनि नौ वर्षदेखि अञ्जुला भट्ट प्रधानाध्यापक हुनुहुन्छ । करिब दुई सय विद्यार्थी रहेको विपद्यालयमा २० जना शिक्षक कार्यरत हुनुहुन्छ । “विसं २०६३ बाट स्थायी भइ दैजीको शारदा माविबाट अध्यापन सुरु गरेकि हुँ”, भट्टले भन्नुभयो, “यतिबेला जानकी कन्या मावि सञ्चालन गर्ने अवसर प्राप्त भएको छ ।”

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ३ : ३३ बजे