३ आश्विन २०८१, बिहिबार | September 19, 2024

मनसुनजन्य विपद् व्यवस्थापनको सबैखाले तयारी गरिएको छ– उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौँ, २० असार:
सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आवश्यक तयारी गरेको जनाएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्को सम्भावित जोखिम व्यवस्थापनका लागि सरकारले सबैखाले तयारी गरिरहेको र आवश्यक संयन्त्र पनि तम्तयार अवस्थामा रहेको बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो भवन परिसरमा रहेको मानवीय सहायतास्थलको निरीक्षण गर्दै उहाँले विपद् व्यवस्थापनका लागि विगतका वर्षभन्दा यो पटक राम्रो तयारी गरिएको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका निम्ति पहिलाका अनुभवबाट शिक्षा लिँदै हाम्रो देश विपद् जोखिमग्रस्त मुलुक हो भन्ने कुरालाई हृदयङ्गम गर्दै आवश्यक तयारीका काम गरिरहेका छौँ, त्यसमध्ये यो पनि एउटा हो ।”

उहाँले विपद् जोखिम न्यूनीकरणका लागि सम्भावित बाढी पहिरोबाट सकेसम्म नबिग्रिने गरी भौतिक संरचना बनाउनुपर्ने र विपद् भइहालेको खण्डमा त्यसलाई व्यवस्थापन सहज हुने गरी संरचना निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

“विपद्को जोखिमलाई न्यूनीकरण बनाउने हाम्रो निरन्तर प्रयास छ । नेपालको भौगोलिक स्वरूप, जलवायु परिवर्तनको जोखिमलगायतबाट हुनसक्ने विपद्को जोखिम न्यूनीकरण र विपद् भइहालेमा छिटो व्यवस्थापनका लागि हामीले पहिलाभन्दा यसलाई धेरै प्रभावकारी बनाएका छौँ”, उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत विभिन्न योजना बनाएर त्यसको तयारीका काम गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार देशका ११ वटा स्थलमा मानवीय सहायतास्थल बनाएर तयारीका काम गरिएको छ ।

जुन–जुन समयमा विपद् आइपर्छ त्यसका निम्ति तत्कालै राहत सामग्री उपलब्ध गराउने व्यवस्था गरिएको छ । त्यसका लागि सुगम स्थानमा मानवीय सहायतास्थल स्थापना गरेर काम भइरहेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्व खाद्य कार्यक्रमले विशेष सहयोग गरिरहेको मन्त्रालयले जनाएको छ ।

अहिले विपद् प्राधिकरणअन्तर्गतको तयारी धेरै अगाडि बढिसेकको र दुई दिनपछि प्रधानमन्त्रीको अध्यक्षता परिषद्को बैठक आयोजना गरिएको पनि उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठ गृहसचिव दिनेश भट्टराईसहित मानवीय सहायतास्थलको निरीक्षणमा जानुभएको हो । सहायतास्थल र त्यहाँ स्टोर गरिएका राहत तथा उद्धारका सामग्रीको मन्त्री श्रेष्ठले निरीक्षण गर्नुभएको थियो ।

गृहमन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका प्रमुख उपसचिव रमा आचार्यका अनुसार काठमाडौँसहित देशका ११ स्थलमा मानवीय सहायतास्थल रहेका छन् । विपद्को समयमा मानवीय सहायतास्थलबाट तत्काल सम्बन्धित ठाउँमा राहत सामग्री पु¥याउने गरिएको छ । मनसुनजन्य विपद् आएको खण्डमा तत्काल त्रिपाल, खाद्य तथा उद्धारका सामग्री उपलब्ध गराउने गरेको छ । फायर फाइटिङका सामग्री पनि स्टोर गरिएको छ ।

विपद्पश्चातको तत्काल गरिने खोज उद्धार तथा राहत व्यवस्थापनसहितको प्रतिकार्यको नेतृत्व गरी यसको संयोजन र सबै निकाय एवं तहको समन्वयात्मक परिचालन गृह मन्त्रालयले गरिरहेको छ । मानवीय सहायतास्थल गृह मन्त्रालयको आपत्कालीन बन्दोबस्ती सामग्रीका भण्डारणस्थलको रूपमा रहेको छ । हाल गृह मन्त्रालयले नेतृत्व लिई विश्व खाद्य कार्यक्रम नेपालले यसको सञ्चालनमा सहयोग गर्दै आइरहेको छ ।

उक्त मानवीय सहायतास्थलबाट गोरखा महाभूकम्प, कोभिड–१९ महामारीलगायत नियमितरूपमा आइपर्ने विभिन्न बाढी पहिरोलगायतका घटनामा मानवीय सहायता सामग्री प्रभावित स्थानमा परिचालन गर्दै आइरहेको छ । हाल ११ वटा मानवीय सहायतास्थल (काठमाडौँ, विराटनगर, वीरगञ्ज, भैरहवा, सुर्खेत, नेपालगञ्ज, धनगढी, तेह्रथुम, महोत्तरी, बैतडी र जुम्ला) सञ्चालनमा रहेका छन् ।

काठमाडौँ, विराटनगर, वीरगञ्ज, भैरहवा, सुर्खेत, नेपालजञ्ज, धनगढी र जुम्लाका विमानस्थल नजिकै राखिएको छ । अन्य तीन वटा मानवीय सहायतास्थल परिचालनको दृष्टिले विभिन्न जिल्लालाई पायक पर्ने र परिचालनमा सहज हुने गरी स्थानमा राखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ५ : ४० बजे