९ आश्विन २०८१, बुधबार | September 25, 2024

‘एभोकाडो सिटी’ अभियान सुरु



साउन -१

भक्तपुरको चाँगुनारायणमा ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान सुरु भएको छ । एक घर दुई एभकाडो बिरुवा रोप्दै आगामी तीन वर्षभित्र चाँगुनारायण नगरपालिकालाई ‘एभोकाडो सिटी’ बनाउने अभियान सुरु भएको हो ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार एवं अर्थविद् डिपी ढकालले भक्तपुरको परिकल्पनालाई साकार पार्न यहाँका स्थानीयलाई एभोकाडोको बिरुवा वितरण गर्दै अभियान सुरु गर्नु भएको हो । ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ नाम दिएर सुरु भएको अभियानबारे जानकारी दिँदै उहाँले आगामी तीन वर्षभित्र नगरपालिका क्षेत्रभित्रका १७ हजार छ सय ८३ घरधुरीमा प्रति घर दुई वटाका दरले एभोकाडोको बिरुवा रोपिने योजना रहेको बताउनुभयो ।

पर्यटकीय गन्तव्यका रुपमा विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरमार्फत पहिचान बनाउन सफल भएको यस नगरपालिकालाई एभोकाडो सिटीका रुपमा पहिचान विस्तार गर्ने उद्देश्यले अभियान सुरु गरिएको ढकालको भनाइ थियो ।

“यस पालिकामा धेरै भूभाग खाली रहेकाले यहाँका बासिन्दाको आयस्तर बढाउनेतर्फ परिकल्पना गर्दा यो अभियानको योजना बनेको हो”, उहाँले भन्नुभयो, “अबको तीन वर्षभित्र सबैको घरमा दुई वटा एभोकाडोको बिरुवा हुर्किने छ । बिरुवाले फल दिन थालेपछि एउटा घरमा कम्तीमा रू १० हजारदेखि रू ५० हजारसम्म आम्दानी बढ्छ ।”

यहाँका नागरिकको जीवनस्तर उकास्दै हरियाली वातावरण बनाउन, पर्यावरण बचाउन तथा भौतिक विकाससँगै आर्थिक विकासका लागि यस अभियानले सहयोग पु¥याउने ढकालले दाबी गर्नुभयो । उहाँले नगर क्षेत्रका प्रत्येक घरमा कम्तिमा दुई वटाका दरले एभोकाडो लगाउनुपर्ने उहाँको भनाइ थियो ।

अभियानका संयोजक नरेश खड्काले उक्त अभियानलाई तीन वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको बताउँदै आजबाट निःशुल्क एभोकाडोको वितरण थालिएको जानकारी दिनुभयो । उहाँले रहरले रोप्ने गरिएको एभोकाडो अब आर्थिक विकास र हरियाली वातावरण बनाउन रोपनुपर्नेमा जोड दिनुभयो ।

प्रशस्त भिटामिन, प्रोटिन पाइने एभोकाडोको माग नेपालमा बढ्दै गएको छ, भने विदेशमासमेत यसको निर्यात गर्न बढिरहेको छ । केही वर्षयता नेपालमा एभोकाडोको व्यावसायिक खेत गर्न थालिएको छ । एभोकाडोको एउटा बोटले तीन वर्षदेखि फल दिन थाल्ने र एउटा बोटले तीन क्विन्टलसम्म फल दिने विज्ञहरु बताउछन् ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ५ : ११ बजे