५ आश्विन २०८१, शनिबार | September 22, 2024

सांसद सुनिल शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा



काठमाडौँ । सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् ।

सुन तस्करीबारे भइरहेको छानविनमा सघाउन दुवै मन्त्रीले राजीनमा दिनुपर्ने उनको माग छ ।

प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

राजस्व विभाग विभाग अर्थमन्त्रालय मातहत रहेको र सुरक्षा निकाय गृह मन्त्रालयमार्फत रहेकोले यी दुवै निकायले त्यति ठूलो परिमाणमा सुन तस्करी हुँदा पनि थाहा नपाउने हुनै नसक्ने भन्दै दुवै मन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

‘प्रधानमन्त्री जिवनसाथीको निधनमा शोकमा हुनुहुन्छ, यही बेला सय किलो सुन अवैध रुपमा आयो,’ उनले भने, ‘राजस्व विभाग अर्थमन्त्रालय अन्तरगत पर्छ । सुरक्षा गृहमन्त्रालय मतहत छ । दुवै निकायले थाहा नपाइ सुन आउने कुरा हुँदैन । प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागले नियन्त्रणमा लियो । यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ ।’

दुई मन्त्रीले बाटो खुला गरेर प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सारबाट पास भएर निकालिएको सुन त्रिभुवन विमानस्थल कार्गो भवन अगाडि ट्याक्सीमा लान लागिएको अवस्थामा बरामद गरिएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  २ : ०० बजे