२ आश्विन २०८१, बुधबार | September 18, 2024

महिला क्रिकेटरका लागि भारतीय प्रशिक्षक नियुक्त



काठमाडौँ, २१ साउन
आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय पूर्वमहिला क्रिकेटर देवीका पाल्शिकरलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ ।

भारत र बङ्गालादेशको सहायक प्रशिक्षकका रूपमा काम गरिसक्नुभएकी उहाँलाई कन्सल्यान्ट प्रशिक्षकको रुपमा आज नियुक्त गरिएको क्यानले जनाएको छ । देविकाले गत सिजनको वुमन्स प्रिमियर लिगमा मुम्बई इन्डियन्स क्लबबाट ब्याटिङ प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो ।

देविका सन् २०१४ देखि २०१६ सम्म भारतको सहायक प्रशिक्षक हुनुहुन्थयो । उहाँ २०१८ मा बङ्गलादेशको सहायक प्रशिक्षक बन्नुभएको थियो । मलेसियामा यही अगस्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म आयोजना हुने आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जस्मा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक मलेसियासँगै बहराइन, भुटान संयुक्त अरब इमिरेट्स (युएई) र कतार रहेका छन् ।

त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् । छनोट हुने नेपाली टोलीकी कप्तान रुविना क्षेत्रीसहित सीता रानामगर, ईन्दु बर्मा, अप्सरी बेगम, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, ईश्वरी विष्ट, कृतिका मरासिनी, बिन्दु रावल, नेरी थापा, काजोल श्रेष्ठ र सम्झना खड्का रहेका छन् ।

त्यसैगरी सरस्वती चौधरी, स्नेहा महरा, सृष्टि जैसी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डङ्गोल, मनिषा चौधरी, ज्योति पाण्डे र रुबि पोडार रहेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १ : ४४ बजे