२ आश्विन २०८१, बुधबार | September 18, 2024

लमजुङ र मनाङ जोड्ने सडक खुलाउन तत्काल असम्भव : ३५ किलोमिटरमा ३५ पहिरो



मनाङ,  साउन २८ गते । हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ । डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो । शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडक खण्डमा आवतजावत रोकिएको आयोजना कार्यालयले जनाएको छ ।

यस सडक खण्डअन्तर्गत लमजुङतर्फ बेलौती बिसौना, खरखरे, रामबजार, घोप्टे भिर, च्याम्चेलगायतका स्थानमा पहिरा खसेको आयोजना कार्यालयका सब-इन्जिनियर सुमन अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही स्थानमा पहिरा खसेर अवरुद्ध भएका छन् भने खरखरेमा ट्र्याक नै भासिएको छ, यसले मनाङ आवतजावत ठप्प भएको छ ।”

सडक सञ्चालनका लागि विभिन्न स्थानमा पहिरो पन्छाउने काम गरिरहेको उहाँले बताउनुभयो । निरन्तर वर्षा भइरहेकाले पहिरा पन्छाउन समस्या भइरहेको भन्दै उहाँले सडक सञ्चालनका लागि प्रयास जारी रहेको जानकारी दिनुभयो । सडकमा खसेको ढुङ्गा, माटो फाल्दै गर्दा माथिबाट पहिरो खसिरहेको जनाउँदै सब-इन्जिनियर अधिकारीले  जोखिम मोलेरै काम गरिरहेको बताउनुभयो ।

यस सडक खण्डअन्तर्गत मनाङतर्फ भन्दा लमजुङतर्फ बढी पहिरा खसेको उहाँले जानकारी दिनुभयो । “लमजुङतर्फ ३५ किलोमिटर छ । किलोमिटर पिच्छे ३५ पहिरा खसेका छन्”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले मनाङमा वर्षा नभए पनि लमजुङतर्फ निरन्तर वर्षा भइरहेकाले बताउनुभयो । उहाँले पहिराका कारण सडक अवरुद्ध रहेकाले पुनः सञ्चालनका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

डुम्रे–बेसीसहर–चामे–खाङ्सारसम्म एक सय पाँच किलोमिटर छ । यसमध्ये डुम्रे–बेसीसहर–चामे सडक खण्डको ३० किलोमिटरमा पहिरा खसिरहने गरेको छ । खसेको पहिरा हटाउन आयोजना कार्यालयले विभिन्न स्थानमा एक्स्काभेटर तयारी अवस्थामा राखेको जनाएको छ ।  रासस

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  २ : ५३ बजे