८ आश्विन २०८१, मंगलबार | September 24, 2024

राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौँ, ३ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउनुभएको छ । राष्ट्रपति पौडेलले मङ्गलबार बिहान साढे ८ बजेको निम्ति बैठक बोलाउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिनुभयो ।

बैठक राष्ट्रपति भवन शीतल निवासमा बस्नेछ । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूको पहिलो पटक बैठक राख्नुभएको हो ।

संसद्को जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मङ्गलबार बिहान साढे ८ बजे शीतल निवास बोलाउनुभएको प्रेस सल्लाहकार पोखरेलको भनाइ छ । सुन प्रकरण उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा (एमाले) ले निरन्तर संसद् अवरोध गर्दै आएको छ । यसअघि राष्ट्रपति पौडेलले ठूला दलका शीर्ष नेतालाई शीतल निवास बोलाएर छलफल गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ८ : ४६ बजे