उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा संसदको गतिरोध अन्त्य भएको दाबी गर्नुभएको छ ।
बुधवार प्रतिनिधिसभा बैठकमा सर्वदलीय बैठकमा गरिएको दुई बुँदे सहमतिबारे जानकारी गराउँदै सो कुरा बताउनुभएको हो । प्रतिनिधि सभाको बैठकमा सुन तस्करीबारे अनुसन्धन गर्न दुई बुँदे सहमति भएकोबारेमा सदन समक्ष जानकारी गराउनु भयो । उपप्रधानमन्त्री खड्काले सो दुई बुँदे सहमतिले दलहरुबीच पुनः सहमति र एकताका साथ देश र जनताको पक्षमा काम गर्ने नयाँ संकल्प उजागर भएको पनि बताउनु भयो । उहाँले उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करीबारे निष्पक्ष ढंगले छानबिन गर्ने उल्लेख गर्दै अव संसदको ध्यान संघीयतासँग सम्बन्धित कानून निर्माणमा केन्द्रित हुने विश्वास समेत व्यक्त गर्नुभयो । प्रदेश र स्थानीय तहसँग सम्बन्धित कानूनहरु निर्माणको काम थाँति नै रहेकाले त्यसलाई पूर्णता दिने काममा संसद र सांसदहरु केन्द्रित हुनुपर्ने उहाँको भनाई थियो ।
उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘यो सहमति जुटेकोमा म नेपाल सरकारको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु । यो सहमतीमा पुग्नका लागि सिंगो संसदमा माननीयजीहरुले आ–आफ्नो ठाउँबाट दिनुभएको योगदानका लागि नेपाल सरकारको तर्फबाट म आभार व्यक्त गर्न चाहन्छु । र, सिंगो संसद र माननीयज्यूहरुलाई बधाई दिन चाहन्छु । र, यस सन्दर्भमा सम्माननीय सभामुख महोदय, सम्माननीय राष्ट्रियसभाका अध्यक्षज्युलगायत सबैले यो परिस्थिति निर्माणका लागि योगदान पु¥याउनुभएको छ । दुईटा विषयमा मूल रुपमा सहमति भएको छ । यो सहमति पछि अब संसदले नेपाली जनताका सरोकारसँग जोडिएका विषय, समस्याहरुलाई छलफल गरेर निकास दिँदै जाने वातावरण निर्माण भएको छ । सँगसँगै संविधानसँग जोडिएका कतिपय संघीय कानूनहरुको निर्माण, संघीय कानूनहरुलाई संशोधन गर्ने विषयहरु हामीले चाँडो भन्दा चाँडो पारित गरेर अगाडि जानु छ । त्यो काममा पनि यो संसदले सक्रियता लिनेछ । र, संघीय कानूनहरु निर्माण गरेर हामीले प्रदेश र स्थानीय तहसँग जोडिएका विषयहरुलाई सहजीकरण गर्ने र सबै मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले परिलक्षित गरेका जनताका हक, अधिकारहरुलाई कानुन निर्माणमार्फत कार्यान्वयनमा जाने वातावरण बनाउन पनि संसदको यो प्रारम्भले त्यो बाटोमा केन्द्रित भएर जानेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । मूल रुपमा भएका सहमतिहरुमा २०८० साल साउन २ गते विदेशबाट अवैध ढंगले पैठारी (तस्करी) गरिएको सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिर लगिरहेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो । उक्त विषय नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले अनुसन्धान, छानविन गरिरहेको सर्वविदितै छ । केन्द्रित अनुसन्धान ब्युरोले निष्पक्ष अनुसन्धान, छानविन गरी सुन तस्करीमा संलग्न व्यक्तिहरुलाई अभियोजन गर्नेछ । त्यसैगरी दोस्रो छ । विदेशबाट इलेक्ट्रिक सिग्रेटमा सुन राखि अवैध पैठारी (तस्करी) गरिएको मिति २०८० साउन २ गते तस्करी गरिएको सुन लगायत पटकपटक सुन तस्करी भई मुलुक भित्र आईरहेको विषयलाई गम्भिरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानविन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रुपमा नियन्त्रण गर्न मौजुदा कानूनमा आवश्यक परे परिमार्जन, संरचनागत सुधार र पटकपटकको सुन तस्करी सम्बन्धि भएको छानबिन, अनुसन्धानबारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेस गर्न जाँचबुझ ऐन, २०२६ बमोजिम २०८०÷६÷५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्नेछ । यसरी सहमति भएर एउटा सकारात्मक वातावरण बनेको छ दलहरुका बीचमा । फेरि सहकार्य, एकताको माध्यामद्वारा देश र जनताको हितमा काम गर्ने नयाँ संकल्प पुनः भएको छ । यसले सिंगो संसदलाई, नेपाली जनतालाई पनि एउटा ठूलो आशा, विश्वास र भरोसाको जग निर्माण गर्ने विश्वास गर्दै बिदा हुन्छु ।’
उपप्रधानमन्त्री खड्काले दलहरुबीचको सहमतीले मुलुक निर्माणमा सबै दलहरु मिलेर अघि बढने विश्वासको वातावरण सृजना भएको समेत बताउनु भयो ।
प्रतिक्रिया