८ आश्विन २०८१, मंगलबार | September 24, 2024

भदौ २६ गतेदेखि नडा अटो शो : ६ दिनसम्म चल्ने, १२० वटा स्टल हुने



नाडा अटोमोबाइल्स एसोसिएसन नेपालले यही भदौ २६ गतेदेखि ३१ गतेसम्म सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १५औं संस्करण टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित “नाडा अटो शो–२०२३” आयोजना गर्ने भएको छ।

प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवाप्रदायकको सहभागिता रहनेछ । १६ वटा ब्रान्डका चार पाङग्रे, २२ वटा ब्रान्डका दुई पाङग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहने आयोजकले जनाएको छ ।

नाडा अध्यक्ष ध्रुव थापाका अनुसार यस पटकको अटो शोलाई थप व्यवस्थित बनाइनेछ । महानगर यातायातको सहयोगमा निःशुल्क सटल बसको व्यवस्था र अन्य विभिन्न सुविधासमेत उपलब्ध हुनेछ ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भीडभाड कम गर्न एवं आगन्तुकको भ्रमणलाई सहज बनाउन सोमबारदेखि नै डिजिटल वालेट खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । भदौ २५ सम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीले २० प्रतिशत क्यास ब्याक अफर पनि दिएको छ ।

यस वर्षको थप आकर्षणमा कुजु नेपाल प्रालिको प्रायोजनमा नाडाले याडिया ई८एस प्रो इलेक्ट्रिक स्कुटर टिकटको लक्की ड्र गरी भाग्यशाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्थासमेत गरेकाे छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  २ : ५४ बजे