५ आश्विन २०८१, शनिबार | September 21, 2024

नवलपरासीमा केराखेतीमा सिगाटोका रोग लागेपछि किसान चिन्तित



मध्यविन्दु (नवलपरासी), ३० भदौ : नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा केराखेतीको ठूलो क्षेत्रफलमा रोग फैलिएपछि किसान चिन्तित भएका छन् । जिल्लाको प्रतापपुर र सुस्ता गाउँपालिकामा लगाइएको अधिकांश केराखेतीमा रोग फैलिएको छ ।

बेच्न तयारी अवस्थामा रहेको केरामा सिगाटोका रोग प्रकोपका रूपमा देखापरेको केरा उत्पादक सङ्घ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताउनुभयो । “दुई वर्ष पहिले यही रोगका कारण सो क्षेत्रमा केराखेती किसानले ठूलो मात्रामा क्षति व्यहोर्नुपरेको थियो”, उहाँले भन्नुभयो, “अहिले पनि करिब कुल खेतीमध्ये आधा क्षेत्रफलमा लगाइएको केरामा रोग फैलिइसकेको छ ।”

एकातर्फ केरा बिक्रीवापतको भुक्तानी नपाउने समस्याका कारण आजित भएका किसानलाई बेच्न तयारी अवस्थामा रहेको केरामा रोग फैलिएपछि किसान थप पीडित भएको यादवले बताउनुभयो । “केरा बेचेको पनि पैसा पाइँदैन, स्थानीय तह, प्रहरी प्रशासन कसैले वास्ता नगर्दा पीडा भएका बेला फेरि बेच्ने बेलाको केरामा रोग लागेको छ, किसानको पीडा कसले बुझ्ने ?”, यादवले भन्नुभयो ।

रोग नियन्त्रणका लागि जमिन सफा गर्ने र विषादी छर्ने काम गर्न किसानलाई सुझाव दिइएको कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट सुस्तापश्चिम)का सूचना अधिकारी समिरसिंह बराईले बताउनुभयो ।

तीव्रगतिमा रोग फैलिएकाले रोकथामका लागि स्थानीय तहसँगको समन्वयमा औषधि वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भैरहवाका प्रमुख नारायण काफ्लेले बताउनुभयो । किसानले पर्याप्त औषधिको व्यवस्था नभएको गुनासो गरेका छन् । ढुसीजन्य ‘ब्ल्याक सिगाटोका’ रोग लागेपछि सुरुमा केराको पातमा थोप्ला देखापर्ने र विस्तारै केराको पात हुँदै बोट नै सुक्दै जाने र फल पनि पाकेर कुहिने गरेको छ ।

पानी पर्ने र घाम लाग्ने क्रम हुँदा भदौ महिनामै प्रायःजसो यो रोग देखापर्ने गरेको कृषि विज्ञहरूले बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता र प्रतापपुर गाउँपालिकालाई केराजोनका रूपमा किटान गरेर केराखेती विस्तारका लागि विभिन्न काम गर्दै आएको छ । जिल्लामा दुई हजार बढी बिघामा केराखेती हुँदै आएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ६ : २६ बजे