६ आश्विन २०८१, आइतबार | September 22, 2024

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन



भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन्। शुक्रवार सरोकारवाला सबै पक्षलाई बोलाएर मन्त्री ज्वालाले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरेका हुन्।

‘यातायात क्षेत्र चुस्त नहुँदा दशैं, तिहार र छठ जस्ता पर्वहरुमा लाखौं यात्रीहरुले सास्ती पाउँदै आएका छन् , यो वर्ष त्यसलाई व्यवस्थित गर्न समयमै कार्यदल बनाएका छौं’ मन्त्री ज्वालाले भने, ‘कार्यदलले एक साताभित्र प्रतिवेदन दिन्छ, त्यही आधारमा व्यवस्थापनको काम थाल्छौं।’

यात्रीहरु ठगिने, बिचबाटोमा अलपत्र जस्ता सास्ती ब्यहोर्नु नपरोस् भन्नलाई मन्त्री ज्वालाले सरोकारवाला निकायसँग बैठक गरेका हुन्।

सिंहदरवारमा भएको कार्यक्रममा राज्यमन्त्री नन्दा चापागाई, बाग्मति प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक महाशाखा, सडक विभाग, यातायात ब्यवसायी महासंघ, उपभोक्ता संरक्षण मञ्च, ट्रेड युनियनकाका प्रतिनिधिहरु र काठमाडौं महानगरपालिकाको सहभागी रहेको थियो।

दशैं, तिहार र छठ पर्वमा राजधानी काठमाडौंबाट वर्षेनी १० लाख यात्रीहरु बाहिरिने गरेका छन्। बाहिरिने यात्रीहरुलाई सुरक्षित पुर्याउन पहल थालिएको हो। मन्त्री ज्वालाको प्रस्तावमा यातायात व्यवसायी महासंघले प्रतिबद्धता पनि जनाएको छ।

‘चाहे ताप्लेजुङ होस्, चाहे जुम्ला होस्, गाडीको अभावमा टिका लगाउनबाट कसैलाई पनि बन्चित हुन दिँदैनौ’ यातायात ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज चौलागाईले भने।

मन्त्री ज्वालाले दशैंको बुकिङ खुल्नुभन्दा अगाडि सडकको अवस्था सुधार गर्न सडक विभागलाई निर्देशन पनि दिए। ‘वर्षातका कारण सडकहरु बिग्रेका छन्, ति सडकहरु तत्काल सुधार गर्नुहोस्’ मन्त्री ज्वालाले भने।

लगतै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सडकको अबस्था सुधार गर्न तत्कालै टोली खटाउने प्रतिबद्धता जनाए भने ट्राफिक महाशाखाले ब्यवस्थापनका लागि आफूहरुले कुनै कसरत बाँकी नराख्ने बताएको छ।

उपभोक्ता संरक्षण मन्त्रका प्रतिनिधिहरुले सडक छेउका होटलहरुले यात्रीहरुलाई दुषित खाना खुवाउने र त्यसको चर्को मूल्य असुल गर्ने गरेको भन्दै त्यसको निरक्षण गर्न मन्त्री ज्वालालाई आग्रह गरेका छन्। मन्त्री ज्वालाले पनि राज्यका अन्य निकाय र मन्त्रालयहरुसँग सहकार्य गरी निरक्षण गर्ने बताए।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ७ : २० बजे